बेनीमा घाँस दाउरा बेचेर विद्यालयलाई आर्थिक सहयोग

पोखरा न्यूज- २०, असोज ।

बेनी नगरपालिका–३ भकिम्लीमा रहेको मुसुङ्डोले आधारभूत विद्यालयलाई स्थानीय सामुदायिक वन समूहले आर्थिक सहयोग गरेका छन् ।

विद्यालयको ५५ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित समारोहमा मुुसुङ डोलेमा रहेका तीन सामुदायिक वन उपभोक्ता समूहले दुई लाख २५ हजार सहयोग गरेका हुन् । जङ्गलको घाँस दाउरा र काठ बेचेर भएको आम्दानीबाट विद्यालयलाई सहयोग गरेका व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर थापाले बताए ।

मुसुङ डोलेखानी सामुदायिक वन उपभोक्ता समूहले रु एक लाख ५० हजार, लुसेपानी रानीदास सामुदायिक वनले रु २५ हजार र बराहताल वन समूहले रु ५० हजार सहयोग गरेका अध्यक्ष थापाले जानकारी दिए ।

यसैगरी डोले सिर्जना आमा समूहले रु एक लाख, आफ्ना दिवङ्गत बुबा यामबहादुर श्रीसको स्मृतिमा उनका छोरा दलबहादुरले रु ३१ हजार ५०५, जय श्रीसले रु २० हजार, बिलबहादुर पुनको स्मृतिमा श्रीमती मनदेवी पुनले रु १० हजार ५०० सहयोग गरेका छन् ।

सहयोग रकम विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकको तलबमा परिचालन गरिने प्रध्यानाध्यपक शेरबहादुर विकले बताए । कक्षा ८ सम्मको पठनपाठन हुने १६५ जना विद्यार्थी रहेका सो विद्यालयमा पाँचजना दरबन्दी र पाँचजना निजी स्रोतका शिक्षक छन् ।

समारोहमा सङ्घीय सांसद भूपेन्द्र थापा र गण्डकी प्रदेश सांसद विनोद केसीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा जोड दिँदै दरबन्दी व्यवस्थापनका विषयमा नीतिगत रुपमा पहल गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा भवन निर्माणका लागि दुई रोपनी जग्गा उपलब्ध गराउनु भएका हर्कबहादुर थापामगरलाई सम्मान गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button