बेनीमा मुख्य विषय पढाउने शिक्षकको अभाव

पोखरा न्यूज- २२, असोज ।

रघुगंगा गाउँपालिका–३ मौवाफाँटस्थित ज्ञानोदय माविका लागि गणित विषयको शिक्षक खोजी शुरु भएको दुई महिना बित्यो तर, अहिलेसम्म एकजना पनि सम्पर्कमा आएका छैनन् । मावि तहका लागि शिक्षक आवश्यकता परेको सूचना प्रकाशन-प्रसारण गर्दा पनि शिक्षक नआएपछि समस्यामा परेको विद्यालयका प्रअ नीलकण्ठ सुवेदी बताउँछन् ।

रघुगंगाकै चिमखोलामा रहेको अमर माविमा ६ महिनासम्म पनि कक्षा १० को विज्ञान विषय अध्यापन गराउने शिक्षक नभएपछि विद्यार्थीहरु आन्दोलनमै उत्रनुपर्ने अवस्था सिर्जना भयो । एसइई परीक्षा नजिकिरहेको सन्दर्भमा विज्ञान र कम्प्युटर विषयको पठनपाठन लामो समयदेखि हुन नसकेपछि विद्यार्थीहरु विद्यालयमा तालाबन्दी गर्न बाध्य भए ।
यी प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । जिल्लामा विज्ञान, गणित, कम्युटर सँगै अङ्ग्रेजी विषयका विषयगत शिक्षकहरुको अभावले पठनपाठन प्रभावित बन्दै आएको छ । जिल्लाको ग्रामीण भेगमा रहेका एक दर्जन भन्दा बढी सामुदायिक विद्यालयको मावि तहमा विज्ञान शिक्षकको अभाव छ । एसइई परीक्षा नजिकिरहेको र शैक्षिक सत्रको आधा समय बितिसकेको अवस्थामा विज्ञान लगायतका मुख्य विषयको पढाइ नै शुरु नहुँदा विद्यार्थीहरु समस्यामा परेका छन् ।

गत जेठमा विज्ञान विषय अध्यापन गराउने शिक्षक सरुवा भएर गएपछि नयाँ शिक्षक नराखिँदा आफूहरु मुख्य विषयकै अध्ययनबाट वञ्चित हुनुपरेको अमर माविमा अध्ययनरत कक्षा १० की छात्रा सम्झना थापाको गुनासो छ । “हामीले निरन्तर विज्ञान विषयको शिक्षकको व्यवस्था गर्न विद्यालयलाई भनिरहेका छौँ तर, अहिलेसम्म १ पाठको मात्रै पठाइ भएको छ, कतै अध्ययन नै नगरिकन परीक्षा दिन त पर्ने होइन भन्ने चिन्ता थपिएको छ” – उनले भनिन् ।
चिमखोलामा मात्रै होइन ग्रामीण भेगमा रहेका मावि तहका विद्यालयमा मुख्य विषयका विषयगत शिक्षकको अभाव छ जसका कारण हरेक वर्ष कुनै न कुनै विद्यालयका विद्यार्थीहरुलाई पूरै अध्ययन नसकिकनै परीक्षा दिनुपर्ने बाध्यता आइलाग्छ । विज्ञान, गणितजस्ता मुख्य विषयमा पटक पटक विज्ञापनमार्फत आह्वान गर्दा समेत शिक्षक नपाउने समस्या भएपछि ग्रामीण भेगका सामुदायिक विद्यालयहरु हैरानीमा छन् ।

मावि तहमा विज्ञान र गणित विषयको शिक्षक अभाव रहेकाले तल्लो तहमा पढाउँदै आएका शिक्षकहरुलाई नै अध्यापन गर्न लगाउनुपर्ने बाध्यता रहेको ज्ञानोदय माविका प्रअ सुवेदीले बताए । प्रअ सुवेदीले भने – “शिक्षक पाउनै मुश्किल छ, पटक पटक सूचना प्रकाशन गर्दा पनि गणित शिक्षक पाउन सकेका छैनौँ, तहअनुसार विषयगत शिक्षक उपलब्ध नहुँदा विद्यालयको शैक्षिक गुणस्तरमा समेत प्रत्यक्ष असर परिरहेको छ ।”
शिक्षक सेवा आयोगमार्फत आउने शिक्षकहरु बाहिर जिल्लाका हुने र उनीहरु अधिकाँश ६ महिनादेखि १ वर्षसम्म मात्रै बसेर सरुवा भएर जाने चलन छ । यो समस्याको समाधान नखोजिँदा विद्यालयहरुमा जनशक्तिको चर्को अभाव हुने गरेको छ । रिक्त दरबन्दीमा करारमा नियुक्त गर्न प्रक्रियागत झण्झट त छ नै, योग्य र शिक्षण अध्यापन अनुमतिपत्र भएका व्यक्तिहरु पाउनै पनि मुश्किल छ ।

जिल्लामा विज्ञान, गणित, कम्प्युटर र अङ्ग्रेजी विषयका शिक्षकहरुको अभाव रहेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । मुख्य विषयहरुमध्ये विज्ञान र गणितका शिक्षकको अभाव ठूलो मात्रामा रहेको इकाई प्रमुख दलबहादुर थापाले बताए । थापाका अनुसार शिक्षक अनुमतिपत्रको परीक्षामा उत्र्तीण दर घट्दो छ । विज्ञान सङ्काय अध्ययन गरेकाहरुका लागि परीक्षा अव्यावहारिक हुनाले योग्यता पुगेकाहरु पनि अनुमतिपत्रविहीन छन् । योग्यता भएर पनि अनुमतिपत्र नहुँदा शिक्षक अभावको समस्या छ ।

अनुमतिपत्र नभएकै कारण विज्ञान विषयका शिक्षकहरु पाउन मुश्किल पर्ने गरेको सर्वोदय मावि भुरुङ तातोपानी स्रोत केन्द्रका स्रोत व्यक्ति जयराम सुवेदी बताउँछन् । शिक्षक खोजीका लागि विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरु भौँतारिरहनुपर्ने बाध्यता रहेको छ । दरबन्दीमा शिक्षक नियुक्त गर्न अनुमति लगेका विद्यालयहरुलाई पनि शिक्षक पाउन महिनौँ लाग्ने गरेको छ । कतिपय विद्यालयले ६ देखि ७ महिनासम्म पनि कुर्नुपर्ने स्थिति आएको छ । यहाँ शैक्षिक जनशक्ति अभाव रहँदा धेरै टाढाका जिल्लाहरुबाट जसोतसो शिक्षकहरु ल्याउनुपर्ने बाध्यता छ ।

मुख्य विषय अध्ययनप्रति चासो घट्दै

जिल्लामा उत्कृष्ट विद्यार्थीहरु नबस्ने प्रचलनले निकट भविष्यमा योग्य शैक्षिक जनशक्तिको अभाव झनै चर्केर जाने खतरा देखिएको छ । कक्षा ११ देखि क्याम्पससम्म नै मुख्य गणित, विज्ञान, अङ्ग्रेजी जस्ता मुख्य विषय लिएर अध्ययन गर्ने विद्यार्थीहरुको सङ्ख्या क्रमशः घट्दै गइरहेको छ । विज्ञान सङ्कायमा हाल बेनीस्थित प्रकाश माविमा कक्षा ११ र १२ को अध्यापन हुँदै आएको छ ।
एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरु पोखरा, काठमाडौँ लगायतका ठाउँमा जाने र अध्ययन पछि पनि उच्च शिक्षा अध्ययन र रोजगारीका लागि विदेश जाने प्रचलन बढ्दो छ । जिल्लाभित्र रहेका शैक्षिक संस्थाहरुमा मुख्य विषय अध्ययन गर्ने विद्यार्थी घट्दै जाने र बाहिर अध्ययन गर्न गएकाहरु नफर्कने स्थिति कायमै रहे यहाँ योग्य शैक्षिक जनशक्तिको अभाव थप बढ्ने म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले बताए ।

विगतमा उत्कृष्ट विद्यार्थीहरु मुख्य विषयहरु अध्ययन गरी शिक्षण पेशामा लाग्न रुची राख्थे । अहिले अब्बल विद्यार्थीहरुको रोजाइ शिक्षणतर्फ छैन । भविष्यमा यस जिल्लाको शैक्षिक क्षेत्रको नेतृत्व गर्ने योग्य जनशक्ति नभइदेला कि भन्ने त्रास उत्पन्न गराएको सुवेदी बताउँछन् । उनका अनुसार म्याग्दी बहुमुखी क्याम्पसमा पछिल्ला वर्षहरुमा गणित र अङ्ग्रेजी विषय लिएर अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घट्दो छ । क्याम्पसले गणिततर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालाहरुसँग अन्तक्र्रियात्मक छलफल नै शुरु गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button