आगामी छ महिनाभित्र नयाँ पर्यटन ऐन ल्याइने

पोखरा न्यूज – २४, असोज ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आगामी छ महिनाभित्र नयाँ पर्यटन ऐन ल्याइने बताएका छन् ।

प्यासिफिक एशिया ट्राभल एशोसियशन (पाटा) नेपाल च्याप्टरको ४२औँ वार्षिक साधारणसभाको हिजो उद्घाटन गर्दै उनले पर्यटन क्षेत्रको समग्र सुधारका लागि पुराना ऐनका केही महत्वपूर्ण विषयलाई समेत समेटेर नयाँ ऐन ल्याउने तयारी गरिएको उल्लेख गरे ।

पर्यटनमन्त्री अधिकारीले पर्यटन क्षेत्रलाई उद्योगको रुपमा मान्यता दिएर त्यसअनुरुपका सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे। उनले पर्यटन क्षेत्रको प्रवद्र्धन एवं विकासका लागि निजी क्षेत्रको सहकार्य र लगानीको वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै पाटा नेपाल च्याप्टरद्वारा सफलतापूर्वक आयोजित हिमालयन ट्राभल मार्टले नेपालको पर्यटन प्रवद्र्धन तथा पर्यटक आगमन वृद्धिमा उल्लेख्य भूमिका निर्वाह गरेको उल्लेख गरे ।

मन्त्री अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको २२ घण्टा सञ्चालन तथा विभिन्न निकायबाट गरिएका सकारात्मक प्रयासहरुको फलस्वरुप पर्यटक आगमन उत्साहजनक रहेको बताए । उनले भने, “पर्यटन क्षेत्रमा अहिले धेरै सकारात्मक कार्यहरु भइरहेको अवस्थामा अझै निराशा र नकारात्मक टिप्पणी हुनु दुःखद् हो । सरकारले पर्यटनमार्फत मुलुकको समृद्धि अघि बढाउने कार्यमा अग्रसर रहेको अवस्थामा सबै निजी क्षेत्रका सरोकारवाला एकताबद्ध भई काम गर्न आवश्यक छ ।”

“डिजिटल परिर्वतनतर्फ पाइला उन्मुख” मूल नाराका साथ पाटाले पर्यटनमा डिजिटल रुपान्तरणका लागि विभिन्न प्रवद्र्धनात्मक अभियान चलाउने जनाएको छ । कार्यक्रममा पाटाका अध्यक्ष सुनील शाक्यले राष्ट्रिय ध्वजावाहकको सुदृढीकरण, नयाँ एयर करिडोरको शुरुवात, आवश्यक पूर्वाधारको निर्माणसँगै नेपाललाई ‘माइस डेस्टिनेसन’को रुपमा स्थापित गर्न अन्तराष्ट्रिय सम्मेलन केन्द्रको तत्काल आवश्यकता रहेको औँल्याए ।

उनले पाटा एडभेन्चर ट्राभल मार्ट सन्–१९८९ मा नेपालबाट शुरु भई ६ पटक नेपालमै आयोजना भइसकेको पृष्ठभूमि उल्लेख गर्दै नेपाल भ्रमण वर्ष–२०२० मनाइरहँदा उक्त मार्ट पुनः नेपालमा आयोजना हुनसके उक्त मार्टले पर्यटन उद्योगका लागि पर्यटन तथा व्यवसाय प्रवद्र्धन तथा नेपाल भ्रमण वर्षलाई सार्थक तुल्याउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button