रुदी ‘ए’ को निर्माण सम्पन्न

पोखरा न्यूज – २४, असोज ।

पछिल्लो दिनमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको निर्माण कार्य धमाधम सम्पन्न हुने चरणमा पुगेका छन् ।

सरकारी स्वामित्व एवं लगानीका आयोजनाको निर्माण कार्यमा आशातित प्रगति नभइरहेको बेला निजी क्षेत्रले आक्रामक रूपमा आयोजना निर्माण सम्पन्न गर्न थालेका हुन् ।

केही दिन पहिले मात्रै लमजुङमा नै आयोजनास्थल रहेको २५ मेगावाट क्षमताको दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको थियो । यस्तै दोलखामा आयोजनास्थल रहेको २५ मेगावाट क्षमताको सिङ्गटी जलविद्युत् आयोजनाको पनि सुरुङ निर्माण सम्पन्न भएको थियो ।

यसै क्रममा लमजुङ र कास्कीको सिमानामा पर्ने रुदी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य सकिएको छ । स्थानीय रुदी खोलामा निर्माण गरिएको ८ दशमलव ८ मेगावाट क्षमताको सो आयोजना निर्माण सम्पन्न भएको हो ।

आयोजनाले १५ दिन नेपाल विद्युत् प्राधिकरणलाई परीक्षणको समय निःशुल्क विद्युत् दिएको छ भने एक महीनाभित्र व्यावसायिक विद्युत् उत्पादन थालिने आयोजनाले जनाएको छ । असोज २० गतेदेखि नहरमा पानी राखेर परीक्षण थालिएको छ । नेपाल विद्युत् प्राधिकरणसँग व्यावसायिक विद्युत् उत्पादन मिति (सीओडी) गत वर्षको असारमा नै तोकिएको थियो । तर निर्माण कार्यमा केही ढिलाइ भएपछि आयोजनाले व्यावसायिक उत्पादन मिति पर सारेको हो ।

रुदी ‘ए’ जलविद्युत्को २०६९ माघ २८ गते विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको थियो । निर्माण शुरु भएको दुई वर्ष पाँच महीनाको अवधिमा निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । हिउँदको समय रु आठ रुपैयाँ ४० पैसा र बर्खायाममा रु ४ रुपैयाँ ८० पैसामा विद्युत् खरिद सम्झौता भएको हो ।

रु एक अर्ब ५० करोड लागतमा आयोजना निर्माण भएको हो । २०७४ असार मसान्तभित्र सक्ने भनिए पनि ०७३ को असारमा बाढीपहिरोले निर्माणाधीन आयोजनामा क्षति पुर्याएपछि निर्माण अवधि लम्बिएको थियो । त्यसअघि भूकम्प र नाकाबन्दी साथै पहिरोले आयोजनाको निर्माण कार्य प्रभावित बनेका आयोजनाका प्रोजेक्ट म्यानेजर सरोज भट्टराईले बताए ।

विद्युत्गृहमा ४ दशमलब ४ मेगावाटका दुई पेलटन टर्बाइन जडान गरिएको छ । अहिले इन्टेक र पेनस्टकमा पानी राखेर परीक्षण भइरहेको उनले बताए । लमजुङको क्व्होलासोंथर गाउँपालिका ५ सिङदीगाउँ र कास्कीको मादी गाउँपालिका–८ सिङदीबेसीमा आयोजनाको बाँध निर्माण गरिएको छ ।

आयोजनामा ६ किलोमिटर लामो पेनस्टक पाइपमार्फत पानी हालिएको छ । मादी–९ बालुवाबोसीमा निर्माण गरिएको विद्युत् परीक्षण उत्पादन शुरु गरिएको छ । आयोजनाको सिभिलतर्फ हाइ हिमालय हाइड्रो कन्सट्रक्सन, हाइड्रो मेकानिकलतर्फ नर्थ हाइड्रो एण्ड इञ्जिनीयरिङ र इलेक्ट्रो मेकानिकलतर्फ तोशिबा प्लान्ट सिस्टम एण्ड सर्भिस कर्पोरेशनले काम गरेको छ ।

आयोजानको प्रवद्र्धकमा विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट प्रालि रहेको छ । आयोजनामा प्रवद्र्धकको ३० प्रतिशत स्वपूँजी रहेको छ भने सानिमा बैंकलगायतले ७० प्रतिशत ऋण लगानी गरेका छन् ।

प्रवद्र्धक कम्पनीले ६ दशमलव ६ मेगावाटको रुदी ‘बी’ जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ । उक्त आयोजनाको पावरहाउसको सिभिलतर्फको काम सकिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button