स्याङ्जा आँधीखोला बगरको कमाइले दशैँ मान्दै मजदूर महिला

पोखरा न्यूज – ३१, असोज ।

धेरै मजदूरको लागि परिवार पाल्ने र घरखर्च चलाउने आम्दानीको स्रोत बनेको छ– आँधीखोला किनारमा रहेको बगर । आँधीखोलाको किनारमा बालुवा चाल्नुका साथै गिट्टी कुटेर धेरै मजदूरले आफ्नो परिवार पाल्दै र पर्व मनाउँदै आएका छन् ।

स्याङ्जा जिल्ला वालिङ नगरपालिका–१३ बोधिभञ्ज्याङकी २७ वर्षीया राधा विश्वकर्मा बाँयेटारी बजारस्थित आँधीखोलाको किनारमा बालुवा चालेर कमाएको पैसाले दशैँमा छोराछोरीलाई नयाँ कपडा किनीदिएकी छन् । राधाका श्रीमान् वैदेशिक राजगारीको सिलसिलामा विदेशमा छन् ।

उनले श्रीमानको कमाइको पैसा प्राप्तिको ठेगान नहुने भएकाले आफूले काम गरेर घर परिवारको खर्च चलाउँदै आएको बताइन । उनले भनिन , “श्रीमानले कहिले पठाउनुहुन्छ निधो हँदैन गाउँघरमा दशैँको बेलामा अरुसँग माग्नभन्दा आफैँले कमाएर दशैँ मनाउन ठीक लागेर काम थालेको छु ।”

बिहानदेखि साँझसम्ममा एक ट्र्याक्टर बालुवा जम्मा गर्ने र एक ट्र्याक्टरको रु १ हजार २०० मा बिक्री गर्ने गरेको उनले बताइन ।

बोधिभञ्ज्याङकै सुमित्रा विकले पनि श्रीमान् विदेशमा भएको बताउँदै अरुसँग दुईचार पैसा के माग्नु भन्दै आफैँले दुःख गरेर कमाएर छोराछोरीको कापीकलम र घरखर्च चलाउनको लागि काममा आएको बताइन । श्रीमानले विदेशमा दुःख गरेर कमाएको पैसामा मात्रै भर परेर बस्नुभन्दा आफूले पनि सानोतिनो काम गरेर केही पैसा कमाउन सके परिवार पाल्न र छोराछोरीको पढाइ खर्च चलाउन सहयोग पुग्ने सोचेर खोला किनारमा काम गर्न आएको उनले बताइन ।

वालिङ नगरपालिका–१२ स्थायी घर बताउने हाल ठूलाखेत बाँयेटारीमा बस्दै आएकी माया गुरुङले घरमा यतिकै बस्नुभन्दा काम गर्दा समय बितेको पनि थाहा नहुने र साथीसँग काम गर्दा रमाइलो हुने भएकाले काम गर्न आएको बताइन ।

– हिमलाल पराजुली 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button