पर्वतको मोदीखोला जलविद्युत् आयोजनाको उत्पादन पूर्ण क्षमतामा

पोखरा न्यूज – ०१, कार्तिक ।

लामो समयदेखि बिग्रिएका यन्त्र मर्मतपछि पर्वतको  मोदी गाउँपालिकामा सञ्चालित मोदीखोला जलविद्युत् आयोजनाबाट क्षमतानुसारको विद्युत् उत्पादन शुरु भएको छ ।

कूल विद्युत् उत्पादन क्षमता १४.८ मेगावाट रहेको आयोजनाबाट अहिले दैनिक १४ दशमलव ८ मेगावाट नै विद्युत् उत्पादन भइरहेको केन्द्रले जनाएको छ । यसअघिका वर्षमा वर्षायाममा पनि बढीमा ११ मेगावाटसम्मको आसपासमा विद्युत् उत्पादन हुने गरेकामा यस वर्ष विद्युत्गृहमा प्रयोग भएको पुरानो कुलर हटाएर नयाँ कुलर परिवर्तन गर्ने, समय समयमा सरसफाइ गर्ने र नयाँ यन्त्र फेरेपछि उत्पादन पूर्ण क्षमतामा हुन थालेको जलविद्युत् आयोजना केन्द्रका प्रमुख शिवकुमार शाहले बताए । “हामीले यस वर्ष एउटा कुलर फेरेका छौँ, त्यसैले नै विद्युत् उत्पादन बढेको छ ।”कुनैकुनै बेला घटबढ हुने भए पनि अधिकांश समयमा क्षमतानुसार नै दिएको छ । अर्को वर्ष अर्को कुलर पनि फेर्ने योजना छ ।

यस पटक केन्द्रीय बोलपत्रानुसार झण्डै रु ३५ लाखको लगानीमा कुलरलगायत अन्य सामान फेरिएको केन्द्र प्रमुख शाहले जानकारी दिए । यसअघि कुलेखानी र मध्यमस्र्याङ्दी आयोजनामा गरेर १६ वर्ष काम गरेका शाह आफैँले विद्युत्गृहका सामान्य खालका मर्मत गर्दै आएका  छन्  । एक वर्ष अगाडि केन्द्र प्रमुख बनेर आएका शाहले मोदीखोला जलविद्युत् आयोजनामा आइपर्ने सामान्य मर्मत र सम्भारका लागि अन्य आयोजनाका प्राविधिक बोलाउनुपर्ने बाध्यता हटेको र समस्या आउनासाथ आफैँले नेतृत्व गरेर समाधान गर्ने गरेका कारण पनि विद्युत् उत्पादन घट्ने समस्या हट्दै गएको बताए ।

मोदीखोला जलविद्युत् आयोजनामा बर्खा याममा दुई वटै युनिटबाट तथा हिउँदमा एउटा मात्र युनिटबाट विद्युत् उत्पादन हुने गरेको छ । मोदीमा पानीको बहाव कम हुँदा झण्डै माघदेखि एउटा मात्र युनिट चल्न सक्ने पानीको क्षमता रहने कारण विद्युत् उत्पादन पनि घट्ने गरेको छ । शाहका अनुसार एउटा टर्बाइनबाट तीन मेगावाटभन्दा कम विद्युत् उत्पादन हुने अवस्था आएपछि दुवै टर्बाइनका लागि प्रयोग भएको पानी एउटा मात्र टर्बाइनमा खसालेर विद्युत् उत्पादन गरिएको छ । सन् २०००(विसं २०५७ तिर) मा निर्माण भएको यो आयोजना यस क्षेत्रकै पुरानो हो । यसपछि पर्वतमा १० मेगावाट क्षमताको तल्लो मोदीखोला ए सञ्चालनमा आएको छ भने २० मेगावाटको तल्लो मोदीखोलाको निर्माण अन्तिम चरणमा पुगेको छ ।

–लक्ष्मीप्रसाद सापकोटा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button