दमौलीमा विश्व ओमकार तथा हिन्दु महामिलन पर्व शुरु

पोखरा न्यूज – ०१, कार्तिक ।

वेदव्यासको जन्मभूमि दमौलीलाई विश्व माझ चिनाउने उद्देश्यले व्यास गुफा क्षेत्रमा आजदेखि विश्व ओमकार तथा हिन्दु महामिलन पर्व शुरु भएको छ ।

वेद अनुयायी प्रतिष्ठान नेपाल तनहुँको आयोजनामा शुरु सो पर्व कात्तिक ३० गतेसम्म चल्नेछ । पर्वको उद्घाटन गर्दै विश्व हिन्दु महासंघ नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले सनातन हिन्दु धर्मको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने आवश्यकतामाथि जोड दिए ।

विभिन्न प्रलोभन दिएर धर्म परिवर्तन गराउने प्रयास भइरहेका उल्लेख गर्दै उनले धर्मको रक्षाका लागि सबै हिन्दु लाग्नुपर्ने बताए ।अध्यक्ष अधिकारीले वेदव्यासभूमिलाई हिन्दुको मूल थलो घोषणा गर्ने अभियानमा यो पर्वले सहयोग पु¥याउने विश्वास व्यक्त गरे  ।

राष्ट्रियसभा सदस्य प्रकाश पन्थले सबै धर्मको मूल सार मानव कल्याण नै रहेको बताए । गण्डकी प्रदेशसभा सदस्य डोवाटे विकले धार्मिक सांस्कृतिक पहिचान राख्न र वेदव्यासभूमिलाई पहिचान गराउनमा यो कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गरे  ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले यो पर्वले वेदव्यास भूमिको प्रचारप्रसार तथा संरक्षणमा सहयोग पु¥याउने धारणा व्यक्त गरे  । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले धर्मले समाज परिचालित गर्न सहयोग पुग्ने बताउँदै राजनीतिक सीमाभन्दा माथि धर्म, संस्कृति र नागरिक सम्बन्ध रहेको विचार व्यक्त गरे  ।

वेद अनुयायी प्रतिष्ठान नेपाल तनहुँका अध्यक्ष कृष्णकान्त काफ्लेको अध्यक्षतामा सम्पन्न समारोहमा व्यासका अध्येता काशीनाथ न्यौपाने, सन्तका तर्फबाट मस्त बाबा, लामा गुरुको तर्फबाट गुरु कारसन, योगी बलभद्रनाथलगायतले धर्मको विविध पक्षमाथि प्रकाश पारे  ।

व्यास भूमिलाई पौराणिक, आध्यात्मिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले परिचित गराउन र धार्मिक पर्यटन प्रवद्र्धन टेवा पु¥याउने उद्दद्धेश्यले एक महिने महामिलन पर्व आयोजना गरिएको हो । गत वर्ष कात्तिक १ गतेदेखि १८ महिनासम्म अखण्ड हरिकिर्तन गरिएको यस ठाउँमा त्यसैको निरन्तरता स्वरुप अब प्रत्येक वर्ष कात्तिक महिनामा यो कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।

पर्वमा धर्मगुरु, सन्त, महन्त, विद्वान, बुद्धिजीवि एवं सम्पूर्ण ओमकार परिवारको उपस्थिति रहने प्रतिष्ठानका मूल संरक्षक शान्ति स्वरुपानन्द दामोदर बाबाले बताए । पर्वका अवसरमा महर्षि वेदव्यासले रचना गरेको वेदको बारेमा समेत जानकारी गराइने उनले जानकारी दिए ।

पर्वका अवसरमा वैदिक सनातन विधिअनुसार हिरण्यगर्भ भगवानी श्रीशालिग्राम तथा पञ्चायन देवताको षोडशोपचारले पूजा, वेद विभिन्न पुराण, रुद्री, चण्डि आदिको पाठ, धर्म गुरुबाट दैनिक धार्मिक प्रवचन लगायतका कार्यक्रम सञ्चालन हुनेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button