पर्वत र बागलुङ जोड्ने पुलमा बञ्जीजम्प निर्माणमा १२ करोड खर्च, ८० प्रतिशत काम पूरा

पोखरा न्यूज – ०१, कार्तिक ।

निर्माणाधीन विश्वकै दोस्रो अग्लो बञ्जीजम्पको निर्माण अन्तिम चरणमा पुगेको  छ । निजी क्षेत्रका युवा व्यवसायीको लगानीमा कालीगण्डकीको खोंचमा पर्वतको  कुश्मा र बागलुङको बलेवालाई ५२० मिटर लामो झोलुङ्गे पुलमा जोडेर निर्माण भइरहेको २२८ मिटर उचाइको नमूना बञ्जीजम्पको कार्य  ८० प्रतिशत पूरा भएको छ ।

कुश्माका लगानीकर्ता नेत्र पराजुली, नवराज पौडेल, युवराज जोशी, राजन जोशी र सिन्धुपाल्चोकका राजु कार्की र फ्रान्सेली युवती फ्लोरेन्सलगायतको हालसम्म रु १२ करोड खर्च भइसकेको जनाएका छन् । बञ्जीमा युवा लगानीकर्ताबाहेक पनि प्रभु बैंकको हालसम्म रु पाँच करोड लगानी भएको कुश्मा शाखाका प्रबन्धक हेमन्तबाबु शर्माले बताए ।

संसारकै गहिरो खाेंच बनाएर बगेको कालीगण्डकीमाथि पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने गरी अग्लो झोलुङ्गे पुल बनाइएको छ । यहाँ विश्वकै दोस्रो उचाइको बञ्जी बन्ने जिकिर लगानीकर्ताको छ । पाँच सय २० मिटर लामो र २२८ मिटर उचाइको सिङ्गल स्पान झोलुङ्गे पुलसहित कालीगण्डकीको खोंचमा बन्ने यो बञ्जी मुलुककै अन्य बञ्जी स्पटमध्ये नमूना हो । विसं २०७३ वैशाखमा निर्माण शुरु भएको बञ्जीसँगै उनीहरूले स्काइ साइक्लिङ, स्वीङ (लठ्ठामा मच्चिने पिङजस्तो खेल) र रिसोर्ट समेतको सञ्चालन तयारी गरेका छन् ।

द क्लिफ प्रालिमार्फत यी सबै संरचनामा लगानी गरिएको लगानीकर्ताले बताएका छन् । क्लाम्पिङ रिसोर्ट सञ्चालन गर्न बलेवामा २५ रोपनी जग्गामा संरचना निर्माण भइरहेको सञ्चालक जोशीले जानकारी दिए । बञ्जीजम्प विश्वकै दोस्रो तथा स्काइ साइक्लिङ र स्वीङ विश्वकै अग्लो हुने जिकिर लगानीकर्ताको छ । “विश्वकै अग्लो बञ्जी चाइनामा छ”, कार्कीले भने, “हामीकहाँ हुने स्काइ साइक्लिङ र स्वीङ विश्वमै अग्लो हुनेछ ।”

बञ्जी निर्माणतर्फ कन्स्ट्रक्सनको जिम्मा लिएको प्यारामाउन्ट कन्स्ट्रक्सनले अबको तीन महीनाभित्र निर्माण सक्ने जनाएको छ । प्यारामाउन्टका कम्पनी लिडर मनोजकुमार चौधरीले सरासर काम गर्न पाए तीन महीनामा सबै सकेर कम्पनीलाई जिम्मा लगाइने बताए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button