सुन्दरतासँगै पर्यटकीय गतिविधिले थप उचाई लिदै पोखरा

डिएनबी, पोखरा न्यूज – ०३ , कार्तिक ।

मौसम खुल्दा अधिकांस सडक क्षेत्रबाटै माछापुच्छ्रे, अन्नपूर्ण सहितका हिमश्रृखलाको दृश्यावलोकन गर्न सकिने, ताल तलैयाले भरिपूर्ण अतिनै रमणिय एवम सुन्दर नगरी पोखरा क्षेत्रमा भ्रमण गर्ने चाहाना धेरैको हुन्छ । पर्यटनको सिजन होस, वा नेपालीहरुको महान पर्वको अवसर नै किन नहोस यस्ता बिषेश समयमा वालवालिका देखि युवा जमात हुदै बृद्धबृद्धाहरुको समेत घुमघामको पहिलो रोजाईमा पर्दछ पोखरा । प्राकृतिक र सांस्कृतिक दुवै हिसाबले धनि मानिने पोखरा क्षेत्र वातावरणिय हिवासले पनि सुन्दर र शान्त भएको यहाँ घुम्न आउने पर्यटकहरु स्वयं बताउने गर्दछन् ।

भारतको सिमाना सुनौली देखि सडकमार्ग हुदै वुटवल तथा नारायणगढ हुदै पोखरा, काठमाण्डौंदेखि पोखरा, उत्तरको नाका कोरलाबाट लोमाङथाङ, मुस्ताङ हुदै पोखरा तथा पुर्वबाट समेत सडक मार्ग हुदै आन्तरिक तथा बाह्यि पर्यटकहरु पोखरा भित्रिने गरेको पाइन्छ । त्यसैगरी पर्यटकहरु काठमाण्डौं-पोखरा, भैरहवा-पोखरा, तथा देशका अन्य क्षेत्रबाट हवाई मार्ग हुदै पोखराको बसाइका लागि भित्रिने गर्दछन।

सामान्यतया पर्यटकहरुले पोखरामा सिटि टुरको रुपमा एक/दुई दिनको बसाई गर्ने गर्दछन । पोखरालाई आधार बनायर पर्यटकले अन्नपुर्ण वेस क्याम्प, पुन हिल, घोरेपानी टाडापानी लगायतको क्षेत्रमा ट्रेकिङ गर्न बढी रुचाएको पाइन्छ । पोखराको मुख्य पर्यटकीय स्थल मानिने लेकसाइड बाहेक पोखरा आसपासका डाँडा क्षेत्रमा समेत होटल तथा रिसोर्टहरु निमार्ण भएसंगै यतिबेला केही पर्यटकहरुको लेकसाइडदेखि केहि टाढा क्षेत्रमा बसाइ गर्न रुचाएको पाइन्छ । धम्पुस, सराङकोट, पुम्दी भुम्दीको विश्व शान्ति स्तुपाको अनदु डाँडा, काँहुडाँडा तथा धरहरा, सुन्दरीडाँडा, रुपाकोट, कुष्ती, मटटिखान लगायतका क्षेत्र पछिल्लो समय पर्यटकको रोजाइमा पर्दै गएका छन् । स्वच्छ र सान्त वातावरण तथा दृश्यावलोकनको हिसावले उत्कृष्ट गन्तव्य मानिने भएकाले यी क्षेत्रले पर्यटकहरुको मनमस्तिष्कमा मिठो छाप छाड्न सफल भएका छन् । पुम्दीकोट टावरबाट फेवातालको पुरै भूभाग, पोखरा बजार क्षेत्र, हिमश्रृखलाको पुरै भूभाग र वरपरका पहाडी भूभाग सहितको दृश्य देख्न सकिन्छ ।

पोखराका लागि अक्टुवर, नोभेम्वर बर्षकै सवै भन्दा बढी पर्यटक भित्रिने समय वा पर्यटनको सिजनको रुपमा मानिन्छ । मौसम खुल्ने बर्षात नहुने र हल्का जाडो सुरु हुने यस सिजनमा यूरोप देखि एसियन, मित्रराष्ट्र चिन र भारतबाट समेत पर्यटकहरु नेपाल आउने गरेको पाइृन्छ । दशैं, तिहारको आसपासको यस सिजनमा नेपालीहरुमा पनि केहि न केहि ठाँउमा घुमघाम गर्नुपर्छ भन्ने मान्यताले गर्दा हिजो आज धेरैको गन्तव्य बन्न सफल भएको छ पोखरा । त्यसैले नेपाली हुन वा विदेशीहरु सवैको घुमघामको रोजाइमा पोखरा पर्ने गरेको छ यतिबेला ।

पोखरामा एकै रातमा २० हजार भन्दा बढी पर्यटकहरुलाई ब्यबस्थापन गर्न सक्ने क्षमता यहाका पर्यटकीय होटलहरुमा रहेको होटल व्यवसायीहरु बताउछन्। सामान्य होटल देखि अति सुबिधा सम्पन्न पाँच तारे सम्मका होटल यहाँ रहेका छन् । खानका हिसाबले समेत नेपाली सबै खानाका परिकार सहित विश्वका अधिकाश देशका खानका परिकारहरु यहाँका होटल तथा रेस्टुरेन्टहरुले पस्किदै आएका छन् ।

पोखरा धार्मिक पर्यटनको हिसाबले पनि उतिकै महत्वपूर्ण मानिन्छ । वडा दशैंको अवसरमा पोखरा घुम्न आउने अधिकाशं पर्यटकहरु पोखराको आकर्षण मध्यको एक मानिने फेवातालको बिच भागमा रहेको तालबाराही मन्दिरको दर्शन गर्न पुग्ने गर्दछन्। मन्दिर दर्शन गर्नको लागि डुंगा सयर गर्नुले आगन्तुक पाहुनालाई छुट्टै मनोरन्जन प्रदान गर्ने गर्दछ । पोखरामा रहेको विन्ध्यवासिनी मन्दिर नेपालकै चर्चित मन्दिरमा भित्र पर्छ । दशैं पर्वको अवसरमा पोखराको विन्दवासिनी मन्दिरमा भक्तजनको ठूलो भिड लाग्ने गर्छ । अग्लो स्थानमा रहेको मन्दिरबाट पोखराको शहर सुन्दर देखिन्छ । विन्दावासिनी मन्दिर आफैमा पनि सुन्दर र सफा रहेको छ । पोखराको अर्को आकर्षण डेभिड फल्स र गुप्तेश्वर गुफा पनि हुन्। फेवातालको पानी बाधबाट डेभिड फल्सको गल्छी हुदै गुप्तेश्वर गुफबाट फुर्से खोला तर्फ जाने गरेको छ । गुप्तेश्वर महादेवको दर्शन गर्न र गुफाभित्र हिड्दाको अनुभव लिन पनि पर्यटकहरु गुफा जाने गरेका छन। पोखराका महेन्द्र गुफा र चमेरे गुफा समेत चर्चित गुफा हुन् । वाटुलेचौरमा रहेको महेन्द्र गुफा पुगेपछि चमेरी गुफा पनि अवलोकन गर्न सकिन्छ ।

पोखराको मुख्य बजार देखि करिब १० किलोमिटर को दुरीमा रहेको बेगनास र रुपाताल पर्यटकहरुलाई मनमोहक पार्ने तालका रुपमा पर्छन। बेगनास तालको माछा प्रचलित मानिन्छ । अहिले पोखरा महानगरभित्र समेटिएको साविक लेकनाथलाई सात तालको नगरिको रुपमा पनि चिनिने गरिन्छ । पोखरामै रहेको अन्तराष्ट्रिय पर्वतीय संग्रहालय पर्वतीय कला, संस्कृति, भेषभुषा बुझ्नको लागि अतिनै महत्वपूर्ण स्थलमा पर्दछ । पर्यटकहरुको लागि राम्रो गन्तव्य भएको संग्रहालयमा बिद्यार्थीहरु समेत उतिकै भ्रमणमा आउने गर्दछन ।

साहसिक खेलको प्रमुख गन्तब्य बन्दै पोखरा

पोखरामा पछिल्लो क्रममा पर्यटकहरुको मुख्य आकषर्ण प्याराग्लाईडिङमा हुने गरेको छ । पर्यटनको सिजनमा  ५ हजार भन्दा बढी विदेशी पर्यटकहरु पोखराको आकासमा उड्ने गर्दछन । पोखरा आएका पर्यटकलाई फेवाताल र पोखराको आकास माथि चरोजस्तै उड्न जो सुकैको मन हुने गर्दछ । प्याराग्लाइडिङ बाहेक सराङकोटको डाँडाँबाट जिप फ्लायर गरेर पोखराको हेमजाका झरेसंगै हेम्जामा टावरसहितको बञ्जी जम्प गर्न पाइन्छ । जीप फ्लायरबाट हेम्जाको सुन्दर गाउँ, आसपासको हरियो वन जंगल र हिमश्रृंखला अवलोकन गर्न सकिन्छ ।

पोखराको अर्को आकर्षण हो, अल्ट्रालाइट फ्लाइट । अल्ट्रालाइटमा उडेर पोखरा शहर तथा आसपासका हिमश्रृंखला हेर्न र नजिकैबाट अनुभब गर्न पाइन्छ । पोखरामा तीन वटा कम्पनीले अल्ट्रालाइट फ्लाइट गर्दै आएका छन । पछिल्लो समयमा हेलिकप्टरबाट समेत पोखराको दृश्वयालोकन गराउदै आइएको छ ।

पोखरा क्षेत्रमा पर्यटकहरुले रमाइलोका लागि गर्ने साइकलिङ्, बोटिंग, घोडा सवारी, सेती नदीमा गरिने जलयात्रा (राफटिङ्ग) तथा पोखरालाई आधार बनाएर आसपासका कालिगण्डकी, मर्स्याङ्दी लगायतका नदीमा गरिने राफटिङ्ग, कायाकिङ्गले साहासिक खेलको गन्तब्य बनाउन पोखरालाई मद्दत गरेका छन् । पोखरा भित्रिने धेरैजसो पर्यटकहरु चाहे पुर्व योजना बनाएर होस् चाहे पोखरा आइसकेपछीको चाहनाले होस् कुनै न कुनै साहसिक खेलमा आबद्ध भएरनै फर्किने गरेको पाइन्छ ।

वातावरणिय, प्राकृतिक र सांस्कृतिक हिसाबले विश्वमा चिनिएको पोखरा पछिल्लो समय साहसिक खेलको प्रमुख गन्तब्यका रुपमा उदय हुदैछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button