यू–१५ साफ फुटबलमा नेपालको विजयी शुरुआत

पोखरा न्यूज – ०८, कार्तिक ।

 साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपालले आज विजयी शुरुआत गरेको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

काठमाडौँमा शुरु चौथो संस्करणको साफ अन्डर १५ फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ ।

पहिलो हाफमा दुई गोलको अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । नेपालले शुरुआती अग्रता खेलको २८औं मिनेटमा जान लिम्बूको पेनाल्टी गोलबाट लिएको थियो । राकेश विश्वकर्मालाई डिबक्सभित्र माल्दिभ्सका खेलाडीले फउल गरेपछि प्राप्त पेनाल्टीमा लिम्बूले गोल गरेका थिए ।

त्यस्तै खेलको ३५औं मिनेटमा नमस थापा मगरले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए । दोस्रो हाफको ६३औँ मिनेटमा शशांक बोहोरा र ६८औँ मिनेटमा दिपेश राईले गोल गरे । जितसँगै नेपालले महत्वपूर्ण तीन अङ्क जोड्न सफल भयो ।

यसअघि आजै भएको पहिलो खेलमा पाकिस्तानले भारतलाई पराजित गरेको थियो । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भूटान, माल्दिभ्स र बङ्गलादेशले सहभागिता छ । प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button