पोखरा प्रिमियर लिगको पहिलो खेलमा पोखरा पल्टन विजयी

पोखरा न्यूज – ०९, कार्तिक ।

सुन्दर नगरी पोखरामा आज देखि शुरु भएको पोखरा प्रिमियर लिगको पहिलो खेलमा पोखरा पल्टनले विराटनगर टाइटनमाथि ५८ रनको सहज जीत हासिल गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभर खेल्दै ३ विकेटको क्षतिमा १९७ रन बनायो । ब्याटिङमा उत्रेका पोखरा पल्टनका सबै खेलाडीले राम्रो योगदान दिँदा पोखराले विशाल लक्ष्य प्रस्तुत गर्न सफल भयो । पोखराका लागि ओपनर कुशल भुर्तेलले ३८(२६) र आसिफ सेखले ५२(५४) रनको योगदान दिए । त्यस्तै पोखराका विदेशी खेलाडी रवि इन्दर सिंहले २७ बलको सामना गर्दै ४४ रन बनाउँदा नेपाली टोलीमा आक्रमक ब्याटिङ गर्ने छवि बनाएका विनोद भण्डारीले पनि आफ्नो छवि अनुरुप नै ११ बलमै अविजित ४१ रन बनाए । पोखराका कप्तान शरद भेष्वाकरले पनि अविजित ७ रन बनाए । विराटनगरका लागि नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले २ तथा सहाब आलमले १ विकेट लिए ।

प्रतिउत्तरमा १९८ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले सुरुआत नै खराब गर्यो । पावरप्लेमै ३ विकेट गुमाएको विराटनगरका धेरै खेलाडीले सुरुवात पाए पनि ठूलो इनिङ खेल्न नसक्दा विराटनगर सहजै हार्न पुग्यो । उसका ओपनर प्रदीप ऎरीले १०(६) र सुनिल धमलाले ११(८) रन बनाए । त्यस्तै राजु रिजाल र पुष्प थापाले समान ३० रनको योगदान दिए । पोखराका बलरले निरन्तर विकेट लिँदा विराटनगर निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३९ रनमै सीमित भयो । पोखराका लागि ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए ।

खेलका म्यान अफ दी म्याच विनोद भण्डारी घोषित भए । अब भोलि प्रतियोगितामा चितवन राइनोज् र बुटवल ब्लास्टर्स् तथा हुलास काठमाडौं रोयल्स र एक्सपर्ट धनगढी ब्लुजबीच दुई खेल  हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button