प्राकृतिक स्रोतसाधनको समूचित व्यवस्थापनबाट मात्रै आर्थिक समृद्धि : डा महत

पोखरा न्यूज – ०९, कार्तिक ।

नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले प्राकृतिक स्रोतसाधनको समूचित व्यवस्थापनबाट मात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् ।

नेपाली काङ्ग्रेस केन्द्रीय आर्थिक नीति मस्यौदा समितिको आयोजनामा आज पोखरामा आयोजित पार्टीको आर्थिक नीति सुझाव सङ्कलनका लागि प्रदेशस्तरीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले आर्थिक समृद्धिका लागि स्रोतसाधनको उपयोग र उद्यमशीलता आवश्यक हुनेमा जोड दिए ।

बिपीको समाजवादी चिन्तन वर्तमानमा पनि उत्तिकै सान्दर्भिक भएको उल्लेख गर्दै सहमहामन्त्री डा महतले काङ्ग्रेसले त्यसलाई आत्मसात गर्न नसकेको बताए ।

आर्थिक समृद्धिका लागि सरकार मात्र नभै निजी क्षेत्रको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुनेमा जोड दिँदै उनले सम्बद्ध सबैको सहकार्यमा आर्थिक विकास सम्भव भएको बताए । वर्तमान सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको नेता महतको आरोप थियो ।

काङ्ग्रेस केन्द्रीय सदस्य एनपी सावदले नीति र सिद्धान्तबाट विचलित बन्ने प्रवृत्तिले पार्टी कमजोर बन्दै गएको प्रति गम्भीर बन्नुपर्ने बताए ।

अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले बिपीको समाजवादी चिन्तनलाई आत्मसात गर्दै उद्यमशीलताको विकास एवं स्रोतसाधनका्े उपयोग गर्न सके आर्थिक विकास सम्भव हुने उल्लेख गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य शङ्कर भण्डारी, धनराज गुरुङ, अर्जुन जोशी, काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसी, डा विजन पन्तलगायतले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button