पिपिएल् : घरेलु टोलीको हार, बुटवल ३३ रनले विजयी

पोखरा न्यूज – ११, कार्तिक ।

पोखरा प्रिमियर लिगको आफ्नो दोस्रो खेलमा पनि बुटवल ब्लास्टर्सले जीत हासिल गरेको छ ।

आज भएको दिनको दोस्रो खेलमा बुटवलले पोखरालाई ३३ रनले पराजित गर्दै प्रतियोगितामा आफ्नो विजय यात्रा कायम राख्यो । खेलमा टस जित्दै ब्याटिङ रोजेको बुटवलले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५० रनको स्कोर खडा गर्यो । ओपनरहरुलाई पावरप्ले भित्रै सस्तैमा गुमाए पनि बुटवलका लागि युएईका रोहन मुस्तफा र भिम सार्कीले ७३ रनको साझेदारी गर्दै टिमलाई चुनौतीपूर्ण स्कोरसम्म डोहोर्याए । रोहनले ४५(३५) तथा भिमले ५४(४६) रनको जिम्मेवारीपुर्ण पारी खेले । त्यस्तै बुटवलका कप्तान सोमपाल कामीले पनि आक्रामक २२(८) रनको क्यामियो खेले । बलिङतर्फ पोखराका मोहम्मद नाभिदले आफ्नो ४ ओभरमा २० रन खर्चदै ३ विकेट हासिल गरे । त्यस्तै मेहबुब आलम, शरद भेष्वाकर र ललित राजवंशीको भागमा पनि एक-एक विकेट पर्यो ।

प्रतिउत्तरमा १५१ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रेको पोखरा पल्टनले सुरुआत राम्रो गरे पनि निरन्तर विकेट गुमाउन पुग्यो । पहिलो विकेटका लागि ओपनर द्वय कुशल भुर्तेल र आसिफ सेखले ३१ रनको साझेदारी गरे पनि दुवैजना तेस्रो ओभरको अन्तिम बलमा र चौथो ओभरको पहिलो बलमा लगातार आउट भएसँगै पोखराले खेलमा लय पनि गुमाउन पुग्यो । त्यसपछि निरन्तर विकेट गुमाएको पोखराले अरु कुनै गतिलो साझेदारी बनाउन सकेन र २० ओभरमा ९ विकेट गुमाउँदै ११७ रनमा सीमित भयो । पोखराका लागि आसिफ सेखले २०(१५) रन बनाउँदा कप्तान शरद भेष्वाकरको १९(२५) रन नै दोस्रो ठूलो योगदान रह्यो । बुटवल ब्लास्टर्सका लागि सोमपाल कामी, विपिन खत्री, रोहन मुस्तफा र ललित भण्डारीले २-२ विकेट लिँदा सागर पुनको भागमा १ विकेट पर्यो । खेलमा म्यान अफ दि म्याच अलराउन्ड प्रदर्शन गरेका बुटवलका रोहन मुस्तफा भए ।

यसअघि आजै बिहान भएको प्रतियोगिताको चौथो खेलमा एक्सपर्ट धनगढीले विराटनगर टाइटन्समाथि ७८ रनको जीत हासिल गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button