मनकामना दर्शन गर्ने भारतीय पर्यटकको संख्या बढ्दो क्रममा

पोखरा न्यूज १४, कार्तिक ।

मनकामना दर्शनका लागि भारतीय पर्यटक आउने क्रम वर्षेनी बढ्दो रहेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका कुरिनटारस्थित चरेसबाट केबुलकार चढेर १० मिनेट यात्रामा गोर्खाको मनकामना मन्दिर पुग्न सकिन्छ । गोर्खाबाट सवारी साधनमा मन्दिरसम्म पुग्ने बाटो भए पनि अधिकांश पर्यटकले केबुलकारको यात्रा गर्ने गर्दछन् ।

सो केबुलकार सञ्चालन गर्दै आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिल्लीनारायण कायस्थका अनुसार शुरुका वर्षमा भारतीय न्यून भए पनि पछिल्ला वर्षमा उल्लेख्य वृद्धि भएको छ । उनका अनुसार गत आवमा नौ लाख ८० हजार १७५ ले केबुलकारबाट यात्रा गरेकोमा दुई लाख आठ हजार ४९२ भारतीय पर्यटक रहेका थिए । भारतीय पर्यटकको संख्या २१ दशमलब २७ प्रतिशत थियो ।

अघिल्लो आव २०७३/०७४ मा १० लाख ११ हजार ८६७ ले केबलकारको यात्रा गरेकोमा एक लाख ४० हजार ९८४ भारतीय थिए । जुन १३ दशमलब ९३ प्रतिशत हो । कायस्थले वर्षेनी भारतीय पर्यटकको सङ्ख्या बढ्दै गएको बताए । तर, अन्य मुलुकका पर्यटकको सङ्ख्या एक प्रतिशत हाराहारी छ ।

मनकामना दर्शन प्रालिका निर्देशक राजेशबाबु श्रेष्ठका अनुसार भारतको बङ्गाल, महाराष्ट, गुजरात, राजस्थानलगायतका प्रदेशबाट भारतीय पर्यटक आउने क्रम बढ्दो छ । अन्तर्राष्ट्रिय जगत्मा मनकामनामाईको महिमा बढ्दै गएकाले नेपालमा हवाई र सवारी साधनबाट भित्रने पर्यटकले एउटा गन्तव्य मनकामना राख्ने गरेको उनले बताए । भारतबाट सवारी साधनमा काठमाण्डु, पोखरा, लुम्बिनी, सौराहलगायतका ठाउँको भ्रमण गर्न आउने अधिकांश धार्मिक पर्यटक बाटोसमेत पर्ने भएकाले मनकामना छिर्ने गर्दछन् । श्रेष्ठले वर्षातको समयमा भारतीय पर्यटकले केबुलकार धान्ने गरेको बताए ।

भारतको कोलकत्ताबाट ठूला दुई बसमा नेपालको विभिन्न स्थानको भ्रमणमा आएका पर्यटकमध्येका एक रतन पैनले तीन पहाड पार गरेर मनकामना माईको दर्शन गर्न पाइने सुनेर दर्शनका लागि यहाँ आएको बताए । उनले भने, ‘मनकामना दर्शन पछि आफ्नो मनकामना पूरा हुन्छ भनेर हामी आएका हौँ । रमाइलो र आनन्द भयो ।’ मनकामना दर्शनपछि फर्कदै गर्नुभएका भारत गुजरातका सुनिलकुमार पट्टेलले आफूले सुनेभन्दा राम्रो र रमाइलो लागेको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ आएपछि नेपालका धार्मिक स्थलमा घुम्न आउनेको भारतीयको सङ्ख्या बढेको छ । मनोकांक्षा पूरा हुने विश्वासका साथ भारतीय पर्यटकले मनकामना दर्शन गर्ने गरेका छन् । सँगै केबुलकार यात्राबाट रमणीय दृष्यावलोकन गर्न पाउने भएपछि पर्यटक लोभिने गरेका छन् ।

विसं २०५५ साल मङ्सिर ८ गतेबाट सेवा शुरु गरेको मनकामना दर्शन प्रालिले हालसम्म एक करोड ४३ लाख १२ हजार ४८६ यात्रुलाई मनकामना दर्शनका लागि यात्रा गराएको छ । जम्मा ३१ वटा डिब्बा सञ्चालन गर्दै आएको प्रालिले यात्रुको चाप बढ्दै गएपछि तीनवटा डिब्बा थप गरेको छ । दैनिक नौ हजारसम्म यात्रुलाई सेवा दिएको प्रालिले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button