पर्वतको घरबासमा आन्तरिक पर्यटकको आकर्षण बढ्यो

पोखरा न्यूज १४, कार्तिक ।

घरबासको अवधारणा आएसँगै ग्रामीण क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ । पर्वत मोदीस्थित चित्रेको घरबासमा पर्यटकको ओइरो लागेको छ । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थल पञ्चासेमा आउने पर्यटकका कारण चित्रेका घरबास भरिभराउ भएका हुन् । पञ्चासेमा पुग्ने पर्यटकको बसाई चित्रेमा हुने गरेको छ ।

गाउँको आतिथ्यता, प्राङ्गारिक खानेकुरा र मनोरम स्थान रहेका कारण चित्रेमा पर्यटक बस्न मन पराउँछन् । जिल्ला सदरमुकामबाट ११ किलोमिटर पक्की सडक र सात किलोमिटर गोरेटोबाटो हिँडेपछि चित्रे पुग्न सकिन्छ । अहिले चित्रेमा दैनिक हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको चित्रे ग्रामीण पर्यटन घरबासका अध्यक्ष सुशीलादेवी गुरुङले बताए ।

पाहुनाका लागि स्थानीय स्तरमा उत्पादन हुने खाना लोकल कुखुरा, कोदो, मकैका परिकारलगायतले स्वागत सत्कार गर्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । करिब ४७८ घरधुरी रहेको चित्रेमा झन्डै १०० घर गुरुङ समुदायको छ । २०६६ सालदेखि शुरु गरिएको घरबास हाल १५ वटा घरमा उपलब्ध गराइएको छ । घरबासमा अहिले एक पटकमा ६५ जनालाई बस्न सक्ने गरी व्यवस्थापन गरिएको र आगामी दिनमा अरु घरमा समेत विस्तार गर्ने योजना रहेको गुरुङले बताए ।

विशेषगरी गर्मी पनि नहुने र जाडो पनि त्यतिधेरै नबढेको समयमा पर्यटकको आवागमन बढी हुने गरेको स्थानीय शिक्षक मधुसुदन अधिकारीले बताए । चित्रेमा आउने पर्यटकलाई स्थानीय वेषभूषा र संस्कृतिका रुपमा रहेको लोक सालैजो, सुनिमायाँ, यानिमायाँ, ठाडोभाकाका गीत र नृत्यले मनोरञ्जन दिने गरेको शिक्षक अधिकारीले बताए ।

“स्थानीयस्तरमा गठन भएका आमा समूहले पाहुनालाई स्वागत गर्ने गर्छन्, राति नृत्य देखाएर पाहुनालाई मनोरञ्जन दिने गरिएको छ”, अधिकारीले भने । अग्ला हिमाली डाँडा, मनोरम ग्रामीण परिवेश, दुर्लभ र बहुमूल्य जडीबुटी पाइने पञ्चासेको घना जङ्गल पश्चिमाञ्चल क्षेत्रकै निकै चर्चित पर्यटकीय स्थल हो । जैविक विविधताले भरिएको पञ्चासे आउने पर्यटकले चित्रेको ‘घरबास’ मा सहज बसाईको सुविधा पाइरहेका छन् ।

यहाँ बाह्यभन्दा आन्तरिक पर्यटक बढी मात्रामा आउने गरेको घरबास सञ्चालक बताउँछन् । पछिल्लो समय चित्रेका घरबास अध्ययन केन्द्रको रुपमा पनि विकास भएका छन् । सुन्दर तथा प्राकृतिक यस क्षेत्रको विकास तथा घरबास प्रवद्र्धनमार्फत स्थानीय बासिन्दाको जीविकोपार्जन तथा ग्रामीण पर्यटनको सम्भावना बढाउन सफल भएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष केदारनाथ शर्मा बताउँछन् । उनले आन्तरिक पर्यटकलाई बढावा दिन यस्ताखाले घरबास सञ्चालन गर्नुपर्ने बताए ।

स्थानीय सरकारले समेत अहिले घरबास सञ्चालनका लागि आवश्यक सहयोग प्रदान गर्दै आइरहेका छन् । पछिल्ला समयमा बजारमा बसोबास गर्ने र तनावको जीवन जिउने फुर्सद मिलाएर ग्रामीण घरबासमा जाने प्रचलन बढ्दै गएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button