पिपिएल् : चितवनले दोस्रो जीत चाख्दा काठमाडौँको पहिलो हार

पोखरा न्यूज – १५, कार्तिक ।

पोखरा प्रिमियर लिगमा हुलास काठमाडौँ रोयल्सलाई हराउँदै चितवन राइनोजले दोस्रो जीत दर्ता गरेको छ ।

आज बिहान भएको खेलमा चितवनले काठमाडौलाई १३ रनले पराजित गर्यो । खेलमा टस हारेर ब्याटिङमा उत्रेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४९ रनको स्कोर खडा गर्यो । चितवनका ओपनर हरि शङ्कर शाहले ६०(४९) रन र अनिल शाहले २७(२७) रन बनाउँदै दरिलो सुरुवात गरे । पहिलो विकेटका लागि ५४ रनको साझेदारी भएपछि ब्याटिङमा आएका कप्तान पारस खड्काले १४ रन मात्र बनाए पनि चौथो नम्बरमा आएका स्मित पटेलले ३१(२४) रन बनाएपछि चितवनले चुनौतीपूर्ण स्कोर खडा गर्न सफल भयो । बलिङतर्फ काठमाडौँका वसन्त रेग्मीले २ विकेट लिँदा पवन सर्राफ र नन्दन यादवले पनि १-१ सफलता पाए ।

प्रतिउत्तरमा १५० रनको लक्ष्य लिएर ब्याटिङमा उत्रेको काठमाडौँ निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३६ रनमा सीमित हुन पुग्यो । उसका लागि विदेशी खेलाडी गौरव तोमारले ३९(३५), कप्तान ज्ञानेन्द्र मल्लले ३०(२२) र पवन सर्राफले २८(२२) रन बनाए । काठमाडौंका ५ खेलाडी दोहोरो अङ्कको स्कोर नबनाई आउट भए । बलिङतर्फ चितवनका करन केसीले ३ विकेट लिँदा पारस खड्काको भागमा २ विकेट पर्यो ।

यससँगै अङ्कतालिकामा चितवनको ४ खेलबाट ४ अङ्क भएको छ भने काठमाडौंले ३ खेलबाट ४ अङ्क नै जोडेको छ । अब आजको दोस्रो खेलमा बुटवलका ब्लास्टर्सले धनगढीका एक्सपर्ट्सको सामना गर्नेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button