किसान बजार सञ्चालनमा आएपछि गोरखाका कृषक हर्षित

पोखरा न्यूज – १७, कार्तिक ।

किसानको उत्पादनलाई प्रवर्धन गर्न किसान बजार सञ्चालनमा आएपछि गोरखाका कृषक खुशी भएका छन् । स्थानीयस्तरमा उत्पादित कृषिजन्य सामग्री कृषक आफैँले बजारमा पुर्याएर बिक्री गर्न पाउँदा कृषक उत्साहित भएका हुन् ।

जिल्लाको शहीद लखन गाउँपालिका–३ को रामशाहघाट बजारमा सञ्चालनमा आएको बजारबाट हरेक हप्ताको शनिबार कृषिजन्य उत्पादन कृषक आफैँले ल्याएर बिक्री गर्न थालेका गाउँपालिकाका कृषि शाखा प्रमुख विजय पौडेलले जानकारी दिए । “कृषि उत्पादनलाई बढवा दिन गाउँपालिकाले कार्यक्रम नै बनाएर किसान बजार सञ्चालनमा ल्याएको हो”, प्रमुख पौडलले भने यसले गर्दा किसानलाई पनि आफ्नो उत्पादन कहाँ बिक्री गर्ने भन्ने समस्या हुँदैन ।”

गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा बजार सञ्चालनमा आएसँगै स्थानीय कृषकले उत्पादन गरेका तरकारी, फलफूललगायत सम्पूर्ण पशुजन्य उत्पादन बजारीकरण गर्न सजिलो भएको उनको भनाइ छ ।

किसान बजार सञ्चालनमा आएपछि विगत २५ वर्षदेखि व्यावसायिक कृषिखेती गर्दै आउनुभएका शहीद लखन गाउँपालिका–३, कुुसुमपानीका तिलबहादुर गुरुङ पनि खुशी छन् । “यसअघि विचौलियामार्फत बिक्री गर्दा उपभोक्ता पनि मारमा परिराखेका थिए, हामी किसानले पनि भनेको मूल्य पाउन गाह्रो भएको थियो”, उनले भने, “अब कृषक र उपभोक्ता दुवैलाई फाइदा पुग्ने भएको छ ।” हप्ताभरि उत्पादन भएका तरकारी किसान बजारमा ल्याएर बेच्न पाउँदा राम्रो मूल्य पाएको उनको भनाइ छ ।

गाउँमा शुरु भएको बजारले गाउँभित्रका व्यावसायिक किसानलाई मात्र नभएर साना किसानलाई समेत फाइदा पुगेको गुरुङ बताउछन् । गाउँघरमा अधिकांश किसानले घरमा खानका लागि थोरै भए पनि तरकारी खेती गर्छन्”, उनले भने, “अब घरमा उपभोग गरेर बढी भएको तरकारीसमेत बजारमा ल्याएर बिक्री गर्न पाउने भएपछि सानादेखि ठूला सबै किसानको पहुँच बजारसम्म पुगेको छ ।”

यस्तै गएको १० वर्षदेखि समूहगतरुपमा व्यावसायिक कृषि खेती गर्दै आउनुभएका शहीद लखन गाउँपालिका–३ स्थित लाफा नमूना कृषि समूहका अर्का किसान कवि थापाले पनि किसान बजार सञ्चालनमा आएसँगै आफूहरुलाई सजिलो भएको बताए । “अहिले धेरैथोरै जे जस्तो भए पनि सिधै उपभोक्तालाई बेच्न पाइयो, उपभोक्ताले पनि ताजा वस्तु खरीद गर्न पाएका छन्” उनले भने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button