पोखरामा युवा पत्रकार संजालको नेतृत्वमा डेंगु रोग विरुद्धको सचेतना र्याली सम्पन्न

पोखरा न्यूज- १८, कार्तिक ।

पत्रकार संजाल गण्डकीको आयोजनामा पोखरामा आइतबार डेंगु रोग विरुद्धको सचेतना र्याली आयोजना गरिएको छ । मानव अधिकारचोक चिप्लेढुंगाबाट सुरु भएको उक्त र्यालीन्युरोड, सभागृहचोक हुदै पृथ्वीचोकमा पुगेर समापन गरिएको थियो ।

र्यालीमा सहभागी सयौं समाजिक अभियन्ताहरुले लामखुट्टेको टोकाईबाट बच्न आह्वान गरिएका प्लेकार्डहरु बोकेका थिए । उनीहरुले वातावरणको संरक्षण गर्दै सरसफाईमा समेत विशेष ध्यान पुर्याउन जोड दिएका छन् ।

र्यालीपश्चात आयोजित कोणसभामा बोल्दै गण्डकी प्रदेशसभाका सांसद रामजी प्रसाद बराल जिवनले संजालले गरेको कार्यले सचेतना अभिवृद्धिमा राज्य सरकारलाई सजग बनाएको बताए ।

संजालका कार्यक्रमहरु केवल चर्चामा मात्र सीमित नभई परिणाममुखी गतिविधिमा केन्द्रित गर्न उनले सुझाव समेत दिए । सामाजिक परिवर्तनका सकरात्मक अभियानलाई निरन्तरता दिएर अगाडी बढ्न उनले आग्रह गरे ।

पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामराज लामिछानेले युवा पत्रकार सञ्जालको कामले समाजसुधारको सन्दर्भमा आशाको किरण पलाएको बताए । संजालसँग वडा कार्यालय हातेमालो गर्न तयार रहेको उनले बताए ।

वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले पोखरामा व्यापक फैलदै गएको डेंगु रोगको नियन्त्रण चिन्ताको विषय भएको बताए । यसको नियन्त्रणका लागी वडामा स्वास्थ्य केन्द्रित गतिविधिहरु जारी राखिएको उनले जनाए ।

स्वास्थ्य कार्यलय कास्कीका भेक्ट्रर कन्ट्रोल निरिक्षक यम बरालले पोखरामा अहिले सम्म १ सय ९ जनामा डेंगुको संक्रमण भेटिएको बताए । लामखुट्टेको टोकाईबाट लाग्ने यो रोगबाट बच्न सरसफाई उत्तम उपाय भएको उनले बताए ।

डेंगु लाग्दा जाडो हुँदै उच्च ज्वरो आउने, जीउ दुख्ने, जोर्नी तथा हाडहरु वेस्सरी दुख्ने, आँखा चलाउँदा तथा घुमाउँदा दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, खाना खान मन नलाग्ने, गिजा वा शरीरका अन्य अंगहरुबाट रगत बग्न सक्ने, ज्वरो आएको केहि समयपछि प्रशस्त पसिना आएर रक्त चाप घट्न सक्ने लगायतका लक्षणहरु देखिने उनले बताए ।

यसको कुनै विशिष्ट उपचार नभएको र खोपको विकास समेत नभएको हुँदा समयमा नै अस्पतालमा गई लाक्षणिक उपाचार गर्न उनले सुझाए । उनले घरघरमा सरसफाई राख्न र खाल्डाखुल्डीमा पानी जम्न नदिन नागरिकलाई अनुरोध गरे ।

युवा पत्रकार सञ्जाल गण्डकीका अध्यक्ष भीम थापाले सञ्जालको स्थापना चर्चाका लागी नभई समाजमा भएका विकृति विसंगती प्रति कलम सँगसँगै आफै फिल्डमा आई काम गरेर देखाउने अभिप्रायले गरिएको बताए ।

उनले परिवर्तनका लागी स्वयमको सक्रियतामा जोड दिएका छन् । सिंगो पोखरालाई सुन्दर बनाउने संजालको निरन्तर अभियानमा सक्रिय सहभागीताको अपेक्षा समेत व्यक्त गरे । र्यालीमा  सांसद, जनप्रतिनिधि, सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, व्यावसायी, कलाकार, पत्रकार, सुरक्षानिकाय, नागरिक समाज, आमा समूह लगायतको सहभागीता रहेको थियो ।

संजालको उपाध्यक्ष सुशान्त गाहा मगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सुरेश अधिकारीले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button