आज तिहारको दोस्रो दिन : कुकुर तिहार, यस्तो छ धार्मिक तथा पौराणिक गाथा

पोखरा न्यूज – २०, कार्तिक  ।

प्रत्येक वर्षको कार्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन नेपाली परिवेशमा कुकुर तिहार मनाइने प्रचलन छ । यस दिनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा–मीठा कुरा खान दिइन्छ ।

कुकुरलाई खान दिंदा ‘द्वौ श्वानौ श्यामशवलौ वैवश्वतकुलोद्भवौ । ताभ्यामन्नं प्रयच्छामि स्यातामेतावहिंसकौ ।’ अर्थात् वैवश्वत कुलमा जन्मिएका कालो र छिरबिरे वर्णका तिमी दुई कुकुरलाई म अन्न दिन्छु । तिमीहरू अहिंसक बन’ भनिन्छ । कुकुरलाई इमानदार पशु मानिन्छ । मानिसले आफू जंगली अवस्थामै रहँदादेखि कुकुर पाल्न थालेको विश्वास गरिन्छ । सिकारदेखि घरको सुरक्षा गर्ने काम होस् वा विभिन्न तरिकाले मनोरञ्जन प्रदान गर्ने काम होस् कुकुरले मानिसलाई सधैं साथ दिँदै आएको छ ।

कुकुरले कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुने बेलामा पूर्वसूचना दिन्छ । कुकुरलाई भैरवको वाहन पनि भनिन्छ । यिनै विभिन्न गुणका कारण कुकुरलाई कदर गरेर मानिसले कुकुरप्रति सम्मान गर्दै वर्षको एकदिन भए पनि कुकुरको पूजा गर्न थालेका हुन् । हाम्रा पौराणिक गाथाहरूमा पनि कुकुरसँग जोडिएका अनेकौं प्रसङ्ग छन् । वेदमा देवकुकुर्नी सर्माले इन्द्रको दूत बनेर असुर व्यापारीहरूसित वार्ता गरेको प्रसङ्ग छ । यस्तै अर्को पौराणिक प्रसङ्गमा यिनका छाउरालाई सानो गल्तीका कारण यज्ञकर्ताहरूले कुटेकाले कुकुर्नीले उनीहरूलाई श्राप दिएको प्रसङ्ग समेत छ । यस्तै महाभारतमा पाण्डवहरू स्वर्ग जाने बेलामा एउटा कुकुर साथै गएको तथा अन्तिममा युधिष्ठिरसित ऊ पनि स्वर्ग पुगेको कथा छ । उक्त कथामा कुकुरलाई यमराज वा धर्मराजकै स्वरूप बताइएको छ ।

नरक चतुर्दशी

यसबाहेक आजकै दिन नरक चतुर्दशी पर्व मनाउँदै नरके नुहाउने र हनुमान् जयन्ति पर्व पनि मनाउने चलन छ । नेपालको तराई क्षेत्र र समस्त भारतमा कार्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिलाई रूप चतुर्दशी र छोटी दीपावली भन्ने प्रचलन पनि छ ।

लिङ्ग, पद्म, स्कन्दलगायत विभिन्न धर्मग्रन्थमा मरणोपरान्त नरकमा प्राप्त हुने यमयातनाको पीडाबाट मुक्त हुन चाहने व्यक्तिले यस चतुर्दशीका दिन बिहान झिसमिसेमा उठी शरीरमा तेल घसेर नुहार्इ यमराजको पूजा गर्नु पर्ने र जसले यस दिन सूर्योदयपछि स्नान गर्दछ, उसको वर्षभरिको पुण्य नाश हुन्छ भनी उल्लेख गरिएको पाइन्छ :-
चतुर्दश्यां धर्मराजपूजा कार्या प्रयत्नतः । स्नानमावश्यकं कार्यं नरैर्नरकभीरुभिः ॥
अरुणोदयतोऽन्यत्र रिक्तायां स्नाति यो नरः । तस्याब्दिकभवो धर्म्मो नश्यत्येव न संशयः॥

भगवान् श्रीकृष्णले अत्याचारी र दुराचारी दुर्दान्त राक्षस नरकासुरको वध गरेको दिन कार्तिक कृष्ण पक्षको चतुर्दशी नै थियो र नरकासुरले भिन्नभिन्न देशदेशान्तरबाट अपहरण गरी बन्दीगृहमा राखेका सोह्र हजार एक सय कन्याहरूलाई भगवानले उक्त दिन मुक्त तुल्याउनु भएको थियो । त्यसरी मुक्त भएका ती राजकुमारीहरूले आफूहरू नरकासुरको अपहरणमा परेको र उसको बन्दीगृहमा बस्नु परेकाले लोकापवादका कारण आफ्नो कसैसँग विवाह नहुने तथा जीवन नै बरबाद हुने भन्दै कृष्णसमक्ष बिन्ती बिसाए । तिनका यस्ता कुरा सुनेपछि भगवान् श्रीकृष्णले तिनीहरूसित संयुक्त रूपमा विवाह गर्नु भएको प्रसङ्ग विभिन्न पुराणहरूमा उल्लेख गरिएको पाइन्छ । भगवान् श्रीकृष्णले नरकासुरको मरणकालमा उसलाई वर प्रदान गर्नुभएअनुसार यस दिन सूर्योदयभन्दा पहिले जसले अभ्यङ्गस्नान (शरीरमा तेल लगाएर) गर्दछ, उसले कृष्णको कृपा प्राप्त भई यावत् पापराशि नष्ट हुन्छन् र नरकको यातना भोग्नुपर्दैन ।

यस दिन बिहानै झिसमिसेमा उठी बेसन र तेल मिसार्इ शरीरमा दली भरिसक्य नजिकैको ताल, तलाउ, नदी वा पोखरीमा जानुपर्छ । ‘सितालोष्ठसमायुक्तं सकण्टकलदलान्वितम् । हर पापमपामार्ग भ्राम्यमाणः पुनः पुनः ॥’ (हे ! लौका वा तपाईंले जुन कुरा लिनुभएको छ हे अपामार्ग तिमीलाई यसरी मेरो शिरमा घुमाएको छु, मेरा समस्त पाप र कुबुद्धिलाई नाश गर ।) भन्दै अाफ्ना टाउकाको वरिपरि सात पटक घुमाउनु पर्दछ र उक्त जरो तथा अपामार्गका साथमा केसरी र गङ्गाजल नुहाउन ठिक्क पारेको पानीमा मिसाउनु पर्छ, अनि उक्त पानीले नुहाउनु पर्छ । यसैलाई नरके नुहाएको वा अभ्यङ्ग स्नान भनिन्छ । त्यसपछि एउटा टपरीको वरिपरि परिवारका सदस्यको सङ्ख्याअनुसार दियोको चोसो बनार्इ प्रत्येक चोसोमा एक/एकजोर बाती बाली उक्त टपरीमा अघि नुहाउँदा प्रयोग गरिएको लौका वा घिरौंलाको जरो र अपामार्गलाई राखी जलप्रवाह गरिदिनु पर्छ । यसलार्इ नरके बगाएको भन्ने चलन छ । तर नुहाउन खोला वा पोखरीमा जान सकिएन भने घरैमा माथिको विधिले नुहार्इ त्यसरी स्नान गर्दा प्रयोग गरिएको अपामार्ग र लौका/घिरौंलाको टुक्रो घरबाहिर कुनै रुखको फेदमा सम्भवभएसम्म दक्षिण दिशामा गाडिदिनु पर्छ । अनि कोइलामा तोरीको पीनाले सात पटक धूप हाल्नुपर्छ । चतुर्दशीका दिनको तोरीको तेलमा लक्ष्मीको र पानीमा गङ्गा नदीको वास हुन्छ भन्ने शास्त्रीय प्रमाण छ । (तैले लक्ष्मी: जले गङ्गा दीपावल्यां चतुर्दशी)

स्नानपछि इष्टदेवताको नित्य पूजादि गर्नुपर्छ । त्यसपछि दम्पतिसहित भगवान् श्रीकृष्णको मन्दिर र देवालयहरूको भ्रमण र दर्शन गर्नुपर्छ । यस दिन लक्ष्मी, गणेश र सरस्वतीको माटोको मूर्ति घरमा ल्याएर लक्ष्मीपूजाका दिन ती मूर्तिको पूजा गर्नुपर्छ । त्यस्तै यस दिन रात्रीकालमा शिवालय वा कुनै तीर्थमा गर्इ पैतृक अधिकारप्राप्त व्यक्तिले अाफ्ना मृतपितृ, यमराज र भीष्मपितामहलार्इ तर्पणादि गर्नाले ठूलो पुण्य प्राप्त हुने कुरा पद्मपुराणमा उल्लेख गरिएको देखिन्छ । ( ततश्च तर्पणं कार्यं धर्मराजस्य नामभिः । जीवत्पिता न कुर्वीत तर्पणं यमभीष्मयोः ॥ यज्ञोपवीतिना कार्यं प्राचीनावीतिना तथा । देवत्वञ्च पितृत्वञ्च यमस्यास्ते द्विरूपता ॥ नक्तं यमचतुर्दश्यां यः कुर्याच्छिवसन्निधौ । न तत् क्रतुशतेनापि प्राप्यते पुण्यमीदृशम् ॥ कुमारीवदुकान् पूज्य तथा शैवतपोधनान् । राजसूयफलं तेन प्राप्यते नात्र संशयः ॥ कार्तिके भौमवारेण चित्रा कृष्णा चतुर्दशी । तस्यां भूतेशमभ्यर्च्च्य गच्छेच्छिवपुरं नरः ॥)

बेलुका घरको मुख्य ढोकामा दुबैतिर एकएक जोर दियो बालेर धर्मराज यमलाई स्मरण गरी पूर्व फर्किएर दीपदान गर्नुपर्छ भनेर सनतकुमार संहितामा उल्लेख गरिएको छ । यसो गर्दा व्यक्तिमा रहेका अज्ञान, अविवेक र मूर्खतारूपी अन्धकार नाश हुन्छ र अगतिमा परेका पितृहरूले स्वर्गको मार्ग देख्दछन् । त्यस्तै यस दिन भगवान् वामन र बलि राजाको समेत पूजा गरेमा माता लक्ष्मीले स्थायी रूपमा घरमा निवास गर्दछिन् भन्ने विश्वास लिइन्छ । नर्के चतुर्दशीका दिन दिउँसो आफूले उपभोग गरेका पुराना कपडा दिनदुःखीलाई दान गर्ने चलन पनि छ । त्यस्तै यस दिन बिहानै हात्तीलाई उखु वा गुलियो चिजबिज खुवाउने चलन छ, हात्ती नभेटिएमा ०९ वर्षमुनिका ४ जना बालबच्चा जम्मा पारी सेलरोटी र पायस भोजन गराउने गरिन्छ । नरक चतुर्दशीका दिन शिव, शक्ति र गणेशको आराधना गरी ब्राह्मण भोजन गराउने चलनसमेत छ । त्यस्तै घरपरिवारमा कुनै किसिमको सङ्कट र रोगव्याधि नहोस् एवं सुखसम्मृद्धि र ऐश्वर्यले सदैव निवास गरोस् भन्ने उद्देश्यले माटाको गाग्रीलाई रातो कपडाले बेरेर सिंगारपेटार गरी त्यसमाथि नरिवल राखी पानीको राम्रो प्रवाह भएको नदीमा बगाइदिनु पर्छ । पद्मपुराणमा चतुर्दशी र अाैंसीको सायंकालमा दुबै दिन दीपावली गर्नुपर्ने बताइएको छ :-

अमावस्याचतुर्दश्योः प्रदोषे दीपदानतः । यममार्गान्धकारेभ्यो मुच्यते कार्तिके नरः ॥

नरक चतुर्दशीको कथा

एउटा प्राचीन कथाअनुसार प्राचीन समयका रन्तिदेव नामका राजा अत्यन्त सत्कर्मी र दानी थिए । उनले पूर्वजन्मदेखि नै व्रत, तप, दान र धर्मका पक्षमा आचरण गरेका थिए । उनले आफ्ना द्वारपालेलाई आदेश दिएका थिए कि उनको दरबारमा आएको कुनै दुःखी, दरिद्र र ब्राह्मणले खाली हात फर्कनु हुँदैन, त्यसैले त्यस्ता कुनै व्यक्ति द्वारमा उपस्थित भएमा मलाई खबर गर्नु, म आफ्नै हातले उसलाई दान दिएर सन्तुष्ट तुल्याउँछु ।

एक पटक राजसभा चलिरहेको बेला उनको द्वारमा एक जना भोका ब्राह्मण आइपुग्यो, सिपाहीले राजालाई सङ्केत दिए, तर राजाले तुरुन्त फुर्सद पाएनन्, धेरै बेर कुरेपछि ब्राह्मण निराश भएर फर्किएका थिए । समय बित्दै गयो, राजाको अन्त्यकाल आयो, यमदूत राजालाई लिन आए । राजाले गरेको दानधर्मका प्रभावले उनले मर्नुअघि जिउँदैमा यमराजलाई देखे । आफूलाई लिन यमदूत आएकोमा छक्क पर्दै उनले तिनलाई प्रश्न गरे हे यमदूत, मैले थाहा पाएसम्म अघिल्लै जन्मदेखि कुनै पापकर्म गरेको छैन, मैले सिधै स्वर्ग जानु पर्ने हो । मेरो के गल्ती छ र तपाईंहरू मलाई लिन आउनु भएको हो ? यमदूतले तुरुन्त उनको दरबारबाट भोको ब्राह्मण फर्किएको प्रसङ्ग सम्झाइदिए । त्यो पुरानो कुरा राजाले पनि सम्झिए र भने त्यतिबेला ब्राह्मणले मेरो राजकाज चलुन्जेल पर्खिएका भए उनी पनि निराश हुने थिएनन्, मैले जानाजानी गल्ती गरेको थिइँन । यसपछि यमदूतले भने जानेर वा नजानेर कसैले पनि गरिब, असहाय र भोको ब्राह्मणका उचित इच्छा पूर्ण नगरेमा नरकको यातना सहनै पर्छ, त्यसैले हामी तपाईंलाई लिन आएका हौं । त्यसपछि राजाले यमदूतलाई बिन्ती गरे – हे यमदूतहरू, मैले जानीजानी गरेको गल्ती थिएन, त्यो, त्यसैले तपाईंहरूले मलाई एक वर्षको म्याद दिनुहोस्, त्यसपछि तपाईंहरूको आज्ञाबमोजिम म नरक जान तैयार हुनेछु । यमदूतले हुन्छ भने । त्यसपछि राजा रन्तीदेवले आफ्ना राज्यमा रहेका कुलगुरु, ब्राह्मण र ऋषिमुनि डाकेर धर्मसभा गराए ।

उनले सभामा आफ्नो र यमदूतको वार्तालापको प्रसङ्ग विमर्शका लागि प्रस्तुत गरे । त्यसपछि त्यहाँ उपस्थित कौशिक ऋषिले भने – हे राजन! तिमीले कार्तिक महिनाको कृष्ण पक्षको चतुर्दशीका दिन बिहानै विधिपूर्वक नरके स्नान गरी व्रत गर, अनि भगवान् श्रीकृष्णको भक्तिपूर्वक पूजाआजा गर, ब्राह्मणहरूलाई भोजन गराएर दक्षिणा देऊ, आफ्नो अपराध ब्राह्मणलाई बताएर क्षमा याचना गर, अनि तिमी पापबाट मुक्त हुनेछौ । त्यसपछि राजाले नरक चतुर्दशीको विधिपूर्वक व्रत गरे र अर्को वर्ष यमदूतले आउनै परेन, बरु नर्के स्नान गरेको पुण्यप्रभावले उनको मृत्युकालमा विष्णुदूत आए र उनलाई वैकुण्ठलोक प्राप्त भयो ।

हनुमान् जयन्ती

हुन त धुमधामसँग हनुमान् जयन्ती चैत्र शुक्ल पूर्णिमाका दिन मनाउने चलन छ ।

यद्यपि वाल्मीकि रामायणको एउटा प्रसङ्गमा ‘ऊर्जे कृष्णचतुर्दश्यां भौमे स्वात्यां कपीश्वरः। मेषलग्नेऽञ्जनागर्भात् प्रादुर्भूतः स्वयं शिव:’ कार्तिक कृष्णपक्षको चतुर्दशी तिथिका दिन मङ्गलवार, स्वाति नक्षत्र र मेष लग्नमा भगवान शिवजीले अञ्जनाको गर्भका माध्यमबाट हनुमानका रूपमा रुद्रावतार लिनु भएको हो भनिएको छ । त्यसैले हनुमानका भक्तहरू यस दिन हनुमान् जयन्ती पनि मनाउने गर्दछन् ।

यस दिन हनुमानका भक्तहरूले हनुमान मन्दिरमा गुलाबी/रातो रङ्गको कपडा चढाएर हनुमान चालिसाको पाठ गर्नुपर्छ । यस दिन व्रत लिने चलन पनि छ । व्रत लिनेले दिउँसो षोडशोपचार पद्धतिले हनूमानको पूजा गरी प्रतिमामा सुगन्धित तेल, घिउ मिसाएर लेप गरिदिनु पर्छ । आमविश्वास छ, यसै दिन जगज्जननी माता सीताले हनुमानलाई आफ्नो सौभाग्यको सिन्दूर प्रदान गर्नुभएको थियो ।

धर्म संस्कृति, कृष्ण प्रसाद कोइराला 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button