मातृशिशु मितेरी अस्पतालमा कोमागाने मितेरीकक्ष सञ्चालन

पोखरा न्यूज- २७ , कार्तिक ।

पोखरा महानगरपालिका–१६ बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालमा कोमागाने मितेरीकक्ष सोमबारदेखि सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाले पहिलो पटक अन्तर्राष्ट्रिय सम्बन्ध कायम गरेको जापानको कोमागाने शहरको नाममा ‘कोमागाने मितेरीकक्ष’ स्थापना गरिएको हो ।

कोमागाने र जापानका बारेमा अध्ययन गर्न सो मितेरीकक्ष स्थापना गरिएको हो । सो कक्षको गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा, पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ र ‘सिटिजन एशोसिएसन फर नेपाल एक्सचेन्ज कोमागाने’का अध्यक्ष कोमा सुभाराले संयुक्तरूपमा उद्घाटन गरे  । प्रदेशसभा सदस्य थापाले कोमागाने शहरसँगको सम्बन्धलाई अझ सुमधुर बनाउनुपर्नेमा जोड दिए ।

पोखरा महागनरका उपप्रमुख गुरुङले मितेरी सम्बन्धलाई बलियो र आत्मीय बनाउन महागनर तयार रहेको बताइन् । उनले पोखराको लेकसाइडस्थित कोमागाने पार्कलाई व्यवस्थित गर्ने महानगरको योजना रहेको बताइन् । सिटिजन एशोसिएसन फर नेपाल एक्सचेञ्ज कोमागानेको अध्यक्ष सुभाराले पोखरा र कोमागानेबीचको सम्बन्धले दुई शहरका बासिन्दाबीचको सम्बन्ध सुमधुर बनेको बताइन् । कोमागाने र पोखराबीच सन् २००१ मा मितेरी सम्बन्ध स्थापना भएको हो । कोमागानेले मातृशिशु मितेरी अस्पताल निर्माण गर्न, स्वास्थ्य उपकरण खरीद गर्न तथा स्वास्थ्य कार्यक्रमका लागि रु सात करोड सहयोग गरेको पोखरा कोमागाने नागरिकमैत्री एशोसिएसनका सचिव महेन्द्रबहादुर गोदारले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button