समृद्धिका लागि पर्यटन र कृषि क्षेत्र प्राथमिकतामा

पोखरा न्यूज- २७ , कार्तिक ।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले प्रदेशको विकास र समृद्धिका लागि सरकारले पर्यटन, ऊर्जा र कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताए ।

वेद अनुयायी प्रतिष्ठान तनहुँको आयोजनामा वेदव्यासभूमि दमौलीमा जारी विश्व ओमकार तथा हिन्दू महामिलन पर्वमा आज सहभागी हुँदै उनले भने, “ यो प्रदेशभित्र रहेका विभिन्न धार्मिक, सांस्कृतिक र ऐतिहासिक ठाउँलाई पर्यटनसँग जोडेर विकास र विस्तार गर्नुपर्दछ ।”

मन्त्री चुमानले देवघाटधाम–व्यासभूमि–गलेश्वर हुँदै मुक्तिनाथ धामलाई जोड्नुपर्ने आवश्यकता माथि जोड दिदैं व्यास भूमिको विकासका लागि प्रदेश सरकार सधैँ तत्पर रहेको बताए ।

सबै धर्मशास्त्र वेदबाट मिश्रित भएकाले सबैलाई समावेशी बनाउन सक्ने धर्म हिन्दू धर्म मात्रै रहेको चर्चा गर्दै उनले वेदव्यासभूमिलाई हिन्दूको मूल थलो बनाउने अभियानमा सबैको साथ र सहकार्य आवश्यक रहेको भने ।

मन्त्री चुमानले सबैको पहिचान स्थापित गर्नमा सङ्घीयताले सहयोग पुर्याउने बताउँदै बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक समाज निर्माण गर्न सके मात्रै सामाजिक न्याय स्थापित गर्न सकिन्छ र यस कार्यमा सङ्घीयताले सहयोग पुर्याउनेछ भने ।”

सो अवसरमा वैदिक सनातन धर्म संरक्षण समाज काठमाडौँका अध्यक्ष हुमनाथ अधिकारी र सचिव सागर रिजालले व्यासभूमिलाई हिन्दूको पवित्र तीर्थस्थल बनाउनुपर्नेमा जोड दिए ।

व्यास गुफाका मूल संरक्षक दामोदर बाबा, व्यासका अध्येता काशीनाथ न्यौपाने लगायतले महामिलन पर्वको उद्देश्यका बारेमा प्रकाश पारे ।

यही कात्तिक १ गतेदेखि शुरु भएको महामिलन पर्व आगामी ३० गतेसम्म सञ्चालन हुनेछ । महामिलन पर्वमा देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेको आयोजकले जनाएको छ ।

पर्वका अवसरमा वैदिक सनातन विधिअनुसार हीरण्यगर्भ भगवान श्रीशालिग्राम तथा पञ्चायन देवताको षोडशोपचार विधिले पूजा, वेद, विभिन्न पुराण, रुद्री, चण्डिआदिको पाठ, धर्म गुरुबाट दैनिक धार्मिक प्रवचनलगायत कार्यक्रम सञ्चालन भइरहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button