छठ प्रति पोखरेलीको क्रेज बढ्दै

पोखरा न्यूज- २७ , कार्तिक ।

मुख्यत तराई मुलका मानिसहरुले मनाउदै आएको छठ पर्व पछिल्लो क्रममा पोखरामा पहाडीहरुले पनि मनाउन थालेका छन् ।

पोखरामा पछिल्ला केहि बर्ष देखि तीन ठाउँमा ब्यबस्थित ढंगले छठ पर्व मनाउन थालेसँगै उक्त पर्व मनाउने पहाडियाहरुको समेत उल्लेख्य सङख्यामा वृद्धि भएको एन.बी. व्यवसायी समितिका अध्यक्ष भुनेस कुमारले बताए । केदारेश्वर मन्दिरको छठ घाटमा माया श्रेष्ठले आफ्नो मनोकांक्षा पुरा हुने धार्मिक विश्वासका साथ आफ्ना साथीहरुको साथमा पूजा गरी अर्घ दिइन् । छठ पर्वमा सुर्य भगवानको पुजा आराधना हुने भएकाले श्रेष्ठ जस्तै धेरै पडाडी मुलका मानिसहरु तराईवासीसँगै छठ पुजामा सरिक हुने गरेका छन् ।

पोखरा क्षेत्रमा सुर्यका भक्तहरुले पोखरा नदीपुरको नारायणथान मन्दिर, बैदामको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनारा) र रिठ्ठाघाट त्रिवेणी धाम (कालिखोला) सेतिनदी किनारामा छठ पुजा धुमधामका साथ मनाएका छन्। सुर्यका भक्तहरुले छठ पर्वको मुख्य दिन (षष्ठी) आज (मंगलबार) अस्ताउँदो सुर्यलाई अर्घ दिदै पोखराका यी मुख्य तीन ठाउँमा पुजा गरेका हुन् । अब भोलि (बुधबार) भक्तहरुले उदाउदो सुर्यलाई अर्घ दिएसँगै यस बर्षको छठ पर्व सम्पन्न हुनेछ ।

पोखरामा मंगलबार दिउँसो करिब ४ बजे देखि हल्का (सिमसिम) पानी परे पनि भक्तहरु वर्षाको कुनै पर्वाह नगरी पूजा-आजामा व्यस्त देखिन्थे । पोखरामै विगत २ दशक भन्दा लामो समय देखि ब्यबस्थित ढंगले छठ पर्व मनाउन थालिएसँगै तराई मुलका करिब ७० प्रतिशत जसो बासिन्दा आफुलाई पायक पर्ने पोखरा क्षेत्रकै विभिन्न ठाउँमा गई पुजा गर्ने गरेका छन् । अझ तराईवासीसँगै पहाडिया समुदाय पनि उत्तिकै सहभागी बन्न थालेसँगै पोखरामा छठको छुट्टै रौनक देखिन थालेको छ ।

विगतका बर्ष देखि छठ पुजा पोखराका विभन्न स्थानमा मनाउदै आएको भए पनि विगत ४ बर्ष देखि मुख्यरुपमा सेती गण्डकी र कालिखोलाको दोभान रिठ्ठाघाट बैकुण्ठ त्रिवेणी धाम (कालिखोला)मा धुमधामका साथ यो पर्व मनाउदै आएको त्रिवेणी घाट छठ पुजा समितिका अध्यक्ष एवं प्राध्यापक देवनारायण सुतीहारले बताए । छठको पुजा गर्न झकी झकाउ पारिएको पुजास्थल (घाट) मा निकै धुमधामका पूजा गरिँदै गरेको पनि उनले बताए ।

पोखरामा व्यवस्थीत रुपमा छठ पुजा गर्न थाले पछि पहाडी मुलका मानिसहरुले समेत छठ पुजा गर्न थालेको नारायणथान मन्दिरका संरक्षक आनन्द गिरी (अन्ना बाबा)ले जनाए । उक्त मन्दिर परिसरमै विगत दुई दशक भन्दा लामो समय देखि छठ पूजा भएकोमा पछिल्ला वर्षहरुमा पोखरामा छठ पूजाको रौनक बढ्दै गएको उनले बताए ।

छठ पूजाको अन्तिम दिन बुधबार बिहान उदाउदो सुर्यलाई अर्घ दिए पछि आगन्तुक भक्तजन सहितका पाहुनाहरुलाई छठ पछि समितिले प्रसाद वितरण गर्ने भएको पूजा समितिका सदस्य राम्जी प्रसाद अग्रहरी (वानिया)ले जानकारी दिए ।

केदारेश्वर महादेवमणि परिसरमा संचालन भएको छठ पूजाको अवसरमा गण्डकी प्रदेशका प्रमुख बाबुराम कुवँरको समेत सहभागिता रहेको थियो । सुर्यलाइ अर्घ दिने समयमा पानी परे पनि केदारेश्वरमा यस बर्ष पनि धुमधामका साथ छठ पर्व मनाउदै गरेको एन.बी. व्यवसायी समितिका अध्यक्ष भुनेस कुमारले बताए ।

छठ घाटमा झिलिमिली पारी सजिसजावट गरिएसँँगै कार्यक्रमको रौनक हेर्न पोखरेलीसँगै विदेशी पर्यटकहरु समेत सहभागी भएका छन्। छठका भक्तहरुले केराको खम्मा, उखु, अदुवा, भोगटे, सुन्तला लगायतका फलफूलका बोटहरु सजावट गरेका छन् ।

सष्ठीमा अस्ताउदो सुर्यलाई अर्घ दिने गरिन्छ भने विभिन्न फलफूल, कन्दमुल,ठेकुवा, कसार लगायतका सामग्रीको साथमा सुर्यका भक्तहरुले पुजा गर्ने गर्दछन् । सुर्यलाई भगवानको प्रतिकको रुपमा पुजा गर्दा भक्तहरुले आफ्नो मनोकाक्षां पुरा हुने धार्मिक विश्वासका रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button