बागलुङको मगर गाउँमा घरबासको तयारी

पोखरा न्यूज – २८, कार्तिक ।

ताराखोला गाउँपालिका–२ अर्गल र ५ को सिपमा घरबास (होमस्टे) सञ्चालन गरिने भएको छ । गाउँले जनजीवन, खानपान, घुमफिर र संस्कृतिका हिसाबले यहाँ घरबासको राम्रो सम्भावना छ । पर्यटन प्रवद्र्धनको उद्देश्य राखेर गाउँपालिकाले घरबास योजना ल्याएको हो ।

चालू आवमा पूर्वाधार तयारीको काम थालिने गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । घरबास सञ्चालनका लागि गाउँसभाले रु दश लाख बजेट छुट्याएको छ । “पहिले व्यवसायी तयार गर्नुपर्नेछ”, अध्यक्ष घर्तीले भने, “यो वर्ष तालीम, भ्रमणसँगै पूर्वाधारको काम हुन्छ ।” घरबास सञ्चालन हुने दुवै मगर बाहुल्य भएका बस्ती हुन् ।

गण्डकी प्रदेश सरकारले तय गरेको कार्यविधि र मापदण्डअनुसार घरबास कार्यक्रम सञ्चालन हुनेछ । प्रदेश सरकारसँग साझेदारी गरी घरबास कार्यक्रम सञ्चालन गर्ने योजना गाउँपालिकाको छ । “बजेटका लागि प्रदेशमा प्रस्ताव अघि बढेको छ”, अध्यक्ष घर्तीले भने  । प्रदेश सरकारले पनि गण्डकीमा तीन सय घरबास चलाउने योजना अघि सारेको छ ।

एउटा घरबासका लागि रु दश लाखसम्म अनुदान दिने नीति छ । ताराखोलामा पर्यटक भित्र्याउन घरबासले टेवा पुग्ने ठानिएको छ । घरबासले अन्य गन्तव्यस्थलको समेत उजागर हुनेछ । प्राकृतिक स्रोतसाधन, रमणीय भूगोल, कला, संस्कृति, रहनसहन आदिले ताराखोला सम्पन्न छ । स्थानीय उत्पादनका हिसाबले पनि ताराखोला परिचित छ ।

यहाँको मुख्य उत्पादन आलु र भाँगो हो । यस्तै गाईघाटको झरना, डुडेलेक लगायतका दर्जनौँ पर्यटकीय गन्तव्य यहीँ पर्छन् । ऐतिहासिक भुस पोल्ने, सिस्नो खोस्ने मेला, सालैजो जस्ता मौलिक संस्कृतिले पनि ताराखोला धनी छ । ग्रामीण पर्यटनको विकास र प्रवद्र्धनका लागि घरबास कार्यक्रम नेपालमा प्रभावकारी बनेको छ ।

जिल्लामा हाल एउटा मात्र घरबास बागलुङ नगरपालिका–१० भकुण्डेमा सञ्चालित छ । धम्जा, पाण्डवखानीलगायत ठाउँमा पनि घरबासको अवधारणा ल्याइएको छ । पारिवारिक वातावरणमा बसोबास, स्थानीय परिकार, मौलिक संस्कृति, पर्यटकीय क्षेत्रको घुमफिर घरबासका आकर्षण हुन् । पर्यटकीय सम्भावनायुक्त भएर पनि पूर्वाधार र प्रचारप्रसार अभावले ताराखोला ओझेलमा छ । व्यवस्थित सडक, पर्यटनमैत्री पूर्वाधार र गन्तव्यस्थलको पहिचान गर्न सके ताराखोलाले पर्यटनमा फड्को मार्ने देखिन्छ । बागलुङ सदरमुकामदेखि ५० किमी मोटरको यात्रामा ताराखोला पुग्न सकिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button