लमजुङको पर्यटकीय गाउँ भुजुङको चिया विदेशसम्म

पोखरा न्यूज – २९, कार्तिक ।

लमजुङको पर्यटकीय गाउँ भुजुङमा उत्पादित चिया विदेशमा माग हुने गरेको छ । यहाँको चिया राम्रो र स्वादिलो भएकाले विदेशबाट माग आउन थालेको हो ।

डेढ दशकअघि १० रोपनी जग्गामा सामूहिक चियाखेती शुरु गरिएको भुजुङमा अहिले गाउँ वरपर व्यक्तिगत र व्यावसायिकरुपमा चियाखेती हुन थोलेको छ । उन्युको झाडीमा समेत भुजुङका बासिन्दाले चियाखेती गरेका छन् । चियाखेती भुजुङ आउने पर्यटकको लागि आकर्षणको केन्द्र बनेको छ । शुरुमा परीक्षणका लागि रोपिएका चिया अहिले विदेशबाट समेत माग हुन थालेपछि स्थानीय मख्ख परेका छन् ।

भुजुङगाउँ हाल क्व्होलासोंथर गाउँपालिका–४ मा पर्छ । साविकको भुजुङ गाउँका प्रत्यक वडाका स्थानीयले सामूहिकरूपमा चियाखेती गरेका हुन् । पहिले एक गाउँ एक गाविसका रूपमा चिनिएको भुजुङ गाउँमा घरबाससँगै चियाखेती पनि विस्तार भएपछि पर्यटक थप आकर्षित भएका छन् । गाउँ आउने पर्यटकले चिया लाने गरेको र विदेश पुगेर पनि पर्यटकले गाउँको चिया पठाउन अनुरोध गरेको घरबास सञ्चालक जुनी गुरुङले बताइन् । “भुजुङको चिया अहिले अमेरिका, बेलायत, हङकङ, बु्रनाइसम्म पुगेको छ । उनले भनीन् , विदेशका आफन्तलाई कोशेलीका रुपमा भुजुङको चिया पठाउने गरिएको छ ।”

डेढ दशकमा १० रोपनीबाट फैलिएरको चियाखेती यतिबेला २५० रोपनीमा फैलिएको छ । वडा सदस्य पित्रमान गुरुङका अनुसार ११ रोपनी क्षेत्रफल जग्गामा आठ हजार बिरुवा यसै वर्ष रोपिएको हो । वर्षैपिच्छे बढाउँदै लैजाने योजना रहेको उनले बताइन् । उनका अनुसार चियाखेतीमा सिङ्गो भुजुङ गाउँका करीब ४०० घरपरिवार लागेका छन् । सामुदायिक रूपमा चियाखेती गरिँदै आएकामा विस्तारै व्यक्तिगत रूपमा पनि १५ रोपनीभन्दा बढी क्षेत्रफल जग्गामा चियाखेती गरिएको छ ।

Loading...

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङको सहयोगमा गाउँलेले चियाखेती थालेका हुन् । एक्यापको सहयोगमा चियाका बिरुवा निःशुल्क उपलब्ध गराएको छ । हरेक वर्षको चियाखेतीमा एक्यापले सहयोग गर्दै आएको एक्याप भुजुङका कार्यालय प्रमुख राजेशप्रसाद गुप्ताले बताए । शुरुमा तीन वर्षको परीक्षण सफल भएपछि भुजुङवासीले २०५९ देखि थप चियाखेती विस्तार गरेका थिए । गुप्ताका अनुसार भुजुङमा तक्दा ७८ र गुम्दा नामक चियाखेती गरिँदै आएको छ ।

समुद्री सतहदेखि एक हजार ६०० देखि एक हजार ७०० मिटरको उचाइको ठाउँमा गरिएको चिया पुस र माघबाहेक १५-१५ दिनको फरकमा टिप्ने गरिएको स्थानीयवासी बताउँछन् । अहिले गाउँमै प्रशोधन केन्द्र सञ्चालन गरिएकाले गाउँमै चियाको प्रशोधन हुने गरेको छ । भुजुङमा पछिल्लो समय चिया बगान हेर्न महिला समूह र विद्यार्थी आउने गरेका छन् ।

प्रतिक्रिया

तपाईको इमेल गोप्य रहनेछ / प्रतिक्रिया लेखेर नाम र इमेल भर्नुहोस् *

Close