ढोरपाटन शिकार आरक्षमा नौ नाउर र पाँच झारलको शिकार

पोखरा न्यूज – २९, कार्तिक ।

नेपालको एकमात्र शिकार आरक्षका खोलिएको ढोरपाटन शिकार आरक्षमा नौ नाउर र पाँच झारलको शिकार भएको छ ।

विश्वका साहसिक शिकारीको प्रमुख गन्तव्य मानिएको आरक्षमा यस वर्षको पहिलो यामको शिकार चलिरहेको आरक्ष कार्यालयले जनाएको छ । आरक्षमा यस वर्षको पहिलो सिकार यामका लागि १० नाउर र छ झारलको शिकार खेल्ने अनुमति दिएकोमा शिकार कम्पनीले हालसम्म एक नाउर एक झारलको मात्र शिकार गर्न बाँकी रहेको छ ।

शिकारका लागि शिकार कम्पनीले एउटा नाउरको बढीमा रु १२ लाख पाँच हजार र एउटा झारलको रु नौ लाख २० हजार राजश्व विभागलाई बुझाएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गरेको बोलपत्र प्रक्रियाबाट चार कम्पनीले शिकारी पठाउने जिम्मा पाएकामा यस याममा तीन कम्पनीले विभागसँग सम्झौता गरी १० शिकारीलाई शिकारका लागि आरक्षमा पठाइएको ढोरपाटन शिकार आरक्ष कार्यालय बागलुङका प्रमुख अणनाथ बरालले जानकारी दिए ।

विश्वभरका साहसिक शिकारीका लागि प्रख्यात मानिएको यस आरक्षमा शिकार गर्नका लागि अमेरिका, रसिया, स्पेनलगायतका मुलुकका शिकारी आउने गरेका छन् ।

ढोरपाटन क्षेत्रमा पाइने नाउर तथा झारलको शिकार गर्नु विश्वकै साहसिक काम हुने भएकाले ट्रफी जित्नका लागि शिकारी आउने गरेको शिकार आरक्ष कार्यालयको भनाइ छ । यस याममा ‘हिमालयन सफारी’ले चार वटा नाउर र एक झारल शिकार गर्ने सम्झौता गरेकोमा तीन वटा नाउर र एक झारलको शिकार गरिसेको छ । बाँकी एक नाउर शिकारका लागि आरक्ष क्षेत्रमा शिकारी आइसकेको आरक्ष कार्यालयले जनाएको छ । हरेक वर्ष असोज महीनादेखि मङ्सिर महीनासम्म पहिलो यामको शिकार गरिन्छ ।

यस्तै ‘ट्रयाक एण्ड टुर्स’ कम्पनीबाट दुई नाउर र दुई झारलको शिकार भइसकेको छ । ग्लोबल सफारीले तीन नाउर र एक झारलको शिकार गराउने सम्झौता गरेकोमा एक नाउरको शिकारका लागि शिकारी टोली अहिले शिकार आरक्षमा पुर्याएको छ । यस्तै ‘वाइल्ड लाइफ सफारी’ले एक नाउर र दुई झारलको शिकार सम्झौता गरेको छ । उसले शिकार गराइसकेको आरक्ष कार्यालय प्रमुख बरालले बताए ।

यस आवको पहिलो यामबाट रु एक करोड ८५ लाख राजश्व सङ्कलन भएको शिकार आरक्ष प्रमुख बरालले जानाकारी दिए । सरकारले विसं २०४२ मा शिकार आरक्ष स्थापना गरेपछि विदेशी पर्यटकको आकर्षण बढ्न थालेको थियो । विश्वमा वैधानिक रूपमा शिकार गर्न पाइने सयौँ शिकार आरक्ष भए पनि विश्वमा प्रख्यात शिकारीले नेपालको ढोरपाटन शिकार आरक्ष मुख्य गन्तव्यका रुपमा लिने गरेका छन् ।

पन्ध्र दिनको शिकार अनुमतिसहित शिकार गर्न आउने शिकारी पर्यटकले आरक्षबाट खटिएर जाने कर्मचारीको प्रत्यक्ष निगरानीमा भाले नाउर वा झारलको मात्र शिकार गर्न पाउने व्यवस्था गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button