पर्वतको शीतभण्डार निर्माण बजेट अभावका कारण अधुरै

पोखरा न्यूज – ३०, कार्तिक ।

मोदी गाउँपालिका–२ कृषि उत्पादन सङ्कलन गर्ने उद्देश्यका साथ निर्माण गरिएको चिस्यान केन्द्र (शीतभण्डार) अधुरै रहेको छ । बजेट अभावका कारण निर्माण पूरा हुन नसकेको हो ।

चिस्यान केन्द्र अधुरै रहेपछि उत्पादन गरेको वस्तु भण्डार गरी आम्दानी गर्ने कृषकको इच्छा तत्काल पूरा नहुने भएको छ । आर्थिक वर्ष २०७३÷७४ देखि चिस्यान केन्द्र निर्माण शुरु भएको हो । अहिले बजेट अभावका कारण सो कार्य अलपत्र छ । स्थानीयवासी खेमबहादुर हमालले उपलब्ध गराएको पाँच आना जग्गामा सो चिस्यान केन्द्र भवन निर्माण थालिएको हो ।

निर्माण समितिका अध्यक्ष गङ्गा तिमिल्सिनाका अनुसार शुरुको वर्ष रु ५० लाख विनियोजन भए पनि रु २४ लाखभन्दा बढी बजेट प्राप्त हुन सकेन । “बजेट थप आएपछि काम शुरु गर्ने योजना छ”, उनले भने । बजेट अभावले काम रोकिएपछि कृषक निराश छन् । एक वर्षमै काम सक्ने लक्ष्यका साथ चिस्यान केन्द्र निर्माण थालिएको हो ।

अहिलेसम्म खर्च गरेर बनाइएको संरचना जीर्ण बन्दै गएको छ । थप बजेट आउने वा नआउने कुनै टुङ्गो छैन । मोदी–२ देउपुरका वडाध्यक्ष विकास तिमिल्सिना चिस्यान केन्द्र निर्माण गर्न बजेट विनियोजनको पहल भइरहेको बताउनुहुन्छ । मोदी गाउँपालिकाका देउपुर, देउराली, भुक, तिलाहार, राम्जादेउराली, लेस्पार र क्याङ कृषिजन्य वस्तु उत्पादनका पकेट क्षेत्र हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button