गलेश्वरमा घुम्ती शिविरबाट बाह्र सय लाभान्वित

पोखरा न्यूज-३ , मंसिर ।

म्याग्दीको धवलागिरि गाउँपालिका– ७ ताकममा सम्पन्न निःशुल्क आँखा उपचार शिविर र रघुगङ्गा गाउँपालिका– ६ कोटगाउँमा सम्पन्न एकीकृत घुम्ती शिविरबाट एक हजार २०० जना भन्दाबढी लाभान्वित भएका छन् । हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोग, धवलागिरि गाउँपालिका, ताकम स्वास्थ्य चौकी र धवलागिरि जनयुवा क्लब ताकमको आयोजनामा चार दिनसम्म शिविर सञ्चालन भएको थियो ।

शिविरमा एक हजार १३ जना लाभान्वित भएका गाउँपालिकाको स्वास्थ्य संयोजक लोकनाथ पौडेलले जानकारी दिए । अन्ठाउन्न जनाको मोतियाबिन्दु र आँखाभित्र परेला पसेका चार जनाको शल्यक्रिया गरिएको छ ।

त्यसैगरी कोटगाउँमा सम्पन्न एकीकृत घुम्ती शिविरबाट २०६ जनाले गाउँमा नै सरकारी सेवा पाएका छन् । गाउँपालिका र वडा कार्यालयको संयोजनमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा शिविर सम्पन्न भएको हो ।

जिल्ला प्रशासन कार्यालयको टोलीले ३८ जनालाई नयाँ र आठ जनालाई प्रतिलिपि नागरिकता प्रमाणपत्र वितरण गरेको प्रजिअ लीलाधर अधिकारीले जानकारी दिए । बत्तीस जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । बेनी अस्पतालका चिकित्सकको टोलीले ७१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श र औषधि वितरण सेवा दिएको छ ।

अठार जनाको जन्मदर्ता, दुई वटा मृत्यु दर्ता, २३ जना महिला र २३ जना पुरुषको तस्बीरसहितको मतदाता नामावली दर्ता भएको छ । सशस्त्र प्रहरीको टोलीले एक वडा एक हेलिप्याड कार्यक्रमका लागि सम्भाव्यता अध्ययन गरेको छ ।

भौगोलिक विकटताका कारण सदरमुकामका कार्यालयमा पुगेर सेवा लिन नसकेका सर्वसाधारणलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको प्रजिअ अधिकारीले बताए । ताकममा सम्पन्न आँखा शिविरबाट भौगोलिकरुपमा विकट र दुर्गम बस्तीका बासिन्दालाई शिविरले राहत मिलेको मोतियाबिन्दुको शल्यक्रिया गर्नुभएका ताकमका उद्धिमबहादुर भण्डारीले बताए ।हिमालयन आँखा अस्पतालका चिकित्सक हरिविक्रम अधिकारीको नेतृत्वमा नेदररल्याण्डका विशेषज्ञ चिकित्सक टर्न रोवर्टसनलगायत १४ जना विदेशी र नेपाली स्वास्थ्यकर्मीको टोलीले सेवा दिएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button