डेङ्गुको सङ्क्रमण तनहुँमा पनि भेटियो

पोखरा न्यूज-४ , मंसिर ।

तनहुँको भिमादमा डेङ्गुका चार बिरामी भेटिएका छन् । नियमित ज्वरो आएपछि पोखराको फेवासिटी अस्पतालमा उपचार गराउन गएका उनीहरूमा डेङ्गुको सङ्क्रमण भएको पुष्टि भएको हो ।

डेङ्गुको सङ्क्रमण हुनेमा एकै घरका तीन दाजुभाइ छन् । भिमाद नगरपालिका–६ का निरोज खनाल, सरोज खनाल र मनोज खनाललाई केही दिनदेखि नियमित ज्वरो आएपछि पोखरास्थित फेवासिटी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा डेङ्गु भएको पुष्टि भएको हो । उनीहरु तीनै जना भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनालका छोरा हुन् ।

भिमादकै अर्का एक जनालाई पनि डेङ्गु भएको भए पनि उनको नाम भने खुल्न सकेको छैन । बिरामीमध्ये निरोज र मनोज फेवासिटीमा उपचारपश्चात् घर फर्किएका छन् भने सरोजको काठमाण्डुको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । हाल उनको अवस्था सुधारोन्मुख छ ।

भिमाद महोत्सवका लागि तराईबाट रमाइलो मेलाको सामग्री ल्याउने क्रममा सामानसँगै लामखुट्टे पनि भित्रिएको कारण सोही लामखुट्टेले टोकेर खनालत्रयलाई डेङ्गु भएको आशङ्का गरिएको छ । भिमादमा दोस्रो भिमाद महोत्सव आयोजना भएको र रमाइलो मेलाका साथै विभिन्न सामग्री बाहिरबाट आयात गरिँदा ती सामानसँगै डेङ्गु सार्ने लामखुट्टे पनि आएको हुनसक्ने स्थानीय बासिन्दाले आशङ्का गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले भने डेङ्गुका बिरामी भेटिएको बारेमा अनभिज्ञता प्रकट गरेको छ । कार्यालय प्रमुख डा सुनिल पौडेलले यस बारेमा आफूलाई केही जानकारी नभएको बताए ।

डेङ्गु लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेङ्गुको भाइरसद्वारा सङ्क्रमित भएको एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ । यसले स–साना सफा पानी जमेको स्थानमा फूल पार्ने गर्दछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button