लमजुङमा अपाङ्ग मैत्री छात्रावास निर्माणका लागि ४० लाख सङ्कलन

पोखरा न्यूज – १२, मंसिर ।

बेलायतमा सङ्कलन गरिएको चन्दाबाट लमजुङमा अपाङ्गता भएका विद्यार्थीका लागि छात्रावास निर्माण गरिने भएको छ ।

सुन्दरबजार नगरपालिका–८ भोटेओडारस्थित भक्ति नमूना माविमा अध्ययनरत बहिरा विद्यार्थीका लागि छात्रावास निर्माण गरिन लागिएको हो । बेलायतस्थित सुस्त श्रवण तथा बहिरा समूहले ‘डेफ नेपाल एक्पेडिसन–२०१८’ गठन गरी छात्रावास निर्माणका लागि चन्दा सङ्कलन अभियान शुरु गरेको र त्यसबाट रु ४० लाख सङ्कलन भएको थियो ।

डेफ नेपाल एक्पेडिसन–२०१८ समूहका टोली प्रमुख डेबिट लवटनसहितको टोलीले विद्यालय भवन निर्माणस्थलको अवलोकन तथा निरीक्षण गरी सन् २०२० सम्ममा भवन निर्माण सक्ने प्रतिबद्धता जनाएका छन् ।

शुरुआती चरणमा छात्रावास निर्माण गरिनेछ भने त्यसपछि उनीहरुका लागि छुट्टै कक्षाकोठासमेत निर्माण गरिने भएको छ । उनीहरुले बेलायती संस्था पहार ट्रष्ट नेपाल पोखराको समन्वयमा भवन निर्माण गर्नेछन् । विद्यालयको नाममा रहेको चार रोपनी १३ आना जग्गामा छात्रावास र बहिरा विद्यालय भवन निर्माण गरिने छ ।

भक्ति नमूनामा सञ्चालित विशेष कक्षामा हाल ३५ विद्यार्थी अध्ययनरत छन् । तीन शिक्षकले पढाइरहेका छन् भने बालबालिकाको स्याहारसुरार गर्न दुई जना खटिएका छन् । २०२४ मा स्थापना भएको भक्ति नमूना माविमा २०६१ बाट स्रोत कक्षा सञ्चालन भइरहेको छ ।

विद्यालयमा रहेका शारीरिकरुपमा अपाङ्गता भएका विद्यार्थीका लागि भोटेओडार बगैैँचा नजिकै पुरानो छात्रावासमा नयाँ छात्रावास निर्माण हुनेछ । विद्यालयका प्रधानाध्यापक यज्ञराज घिमिरेका अनुसार बहिरा र मुख नबोल्ने विद्यार्थीलाई सँगै राखेर पढाउँदा समस्या हुने गरेको छ । छुट्टै छात्रावास र विद्यालय भवन बनेपछि विद्यार्थीलाई सहज हुने उनले बताए । भवन निर्माणका लागि विद्यालयका पूर्वप्रधानाध्यापक उत्तरकुमार श्रेष्ठको अध्यक्षतामा समिति गठन गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button