मुस्ताङमा आगलागीबाट डेढ करोडभन्दा बढीको क्षति

पोखरा न्यूज – १३, मंसिर ।

मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा आज बिहान एक घरमा आगलागी हुँदा डेढ करोड रुपैयाँभन्दा बढीको धनमाल नोक्सानी भएको छ । स्थानीयवासी मिमप्रसाद थकालीको दुईतले घरमा आगलागी हुँदा रु एक करोड ६५ लाख मूल्य बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार १४ कोठा भएको दुईतले घर, त्यहाँ भएका लत्ताकपडा, खाद्यान्न लगायतका धनमाल जलेर रु एक करोड ५० लाखको क्षति भएको छ । यसैगरी सोही घरमा सागर नेपालीले सञ्चालन गरेको दर्शन फर्निचर उद्योगमा पनि रु पन्ध्र लाखको क्षति पुगेको अनुमान गरिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, जनप्रतिनिधि, स्थानीयवासीले तीन घण्टापछि बिहान ६ बजेतिर आगलागी नियन्त्रणमा लिएका थिए । विद्युत् सर्ट अथवा आगोको झिल्कोबाट आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरी निरीक्षक राजेन्द्रप्रसाद रेग्मीले बताए । पीडितलाई जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेश सरकारको कोषमार्फत राहतको व्यवस्था मिलाइने गण्डकी प्रदेशसभा सदस्य चन्द्रमोहन गौचनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button