तनहुँको घरबासमा पाहुनाको भीड

पोखरा न्यूज-१६, मंसिर ।

पछिल्लो समय जिल्लाका घरबासमा पाहुनाको भीड बढ्दै गएको छ भने क्यामफायर गर्नेको सङ्ख्यामा समेत वृद्धि हुन थालेको छ ।

भानु नगरपालिका–५ स्थित नावरुङमा यतिखेर आन्तरिक पर्यटकको भीड बढेको हो । पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै त्यहाँ रहेका दुईवटा घरबास भरिभराउ हुने गरेका छन् । आन्तरिक पर्यटक घरबासमा बस्न तथा खान मात्र नभई त्यहाँको मनोरम दृश्य र हरियाली पाखापखेरामा रम्नका लागि आउने गरेका हुन् । चाडबाड सकिएसँगै घरबासमा पर्यटक आउन थालेका नावरुङ घरबासकी अध्यक्ष सतिदेवी मल्लले बताइन् ।

पर्यटक बढेसँगै आयआर्जनमा वृद्धि हुने गरेको उनले जानकारी दिइन् । शुरुका दिनमा पाहुना खासै नआए पनि पछिल्लो समय भने वृद्धि भएको उनले बताइन् । गाउँमा नै बसीबसी स्थानीयवासीले आम्दानीमा वृद्धि गरी मासिक पन्ध्रदेखि बीस हजारसम्म कमाई गर्ने गरेका छन् । पर्यटक रमाइलो गर्नभन्दा पनि घरबासका घर हेर्न आउने गरेका छन् । त्यहाँका फरक प्रकारका घरले घरबासमा बस्दा रिसोर्टमा बसेको अनुभुति कतिपय पर्यटकलाई हुने गरेको छ ।

विसं २०७३ बाट १६ वटा घर मिलेर दुईवटा घरबास सञ्चालन गरिएको त्यस गाउँको मुहार नै फेरिएको छ । भाले जुधाइ घरबास र नावरुङ घरबास गरी दुईवटा होमस्टे गाउँमा सञ्चालनमा छन् । घरबासमा आउने जो कोही पनि त्यहाँ पुगेपछि अचम्मित हुने गरेका भानु नगरपालिका–५ का वडाध्यक्ष प्रकाश मल्लले बताए । चिटिक्क परेको घर, फूलबारी, शहर बजारका घरमा जस्तो धुपीका बोट, रिसोर्टमा राखिने जस्ता रङ्गीबिरङ्गी छातालगायतका वस्तुले शहरमै बसेको अनुभूति दिलाउने गरेको छ ।

घरबासमा आएका पाहुनालाई युवायुवतीले परम्परागत वेशभूषामा सजिई माला लगाएर स्वागत गर्ने गरेका छन् । त्यहाँ सांस्कृतिक कार्यक्रम चुट्का, दोहोरीलगायत गीत र नाच गरेर मनोरञ्जन दिलाइने गरिएको छ । त्यस ठाउँमा मगर, गुरुङ र ठकुरी समुदायका स्थानीयवासी मिलेर घरबास सञ्चालन गरेका छन् । दैनिक १५ देखि २० जना पर्यटक होमस्टेमा बस्न आउने गरेका घरबासकी सदस्य कमला आलेले जानकारी दिइन् । घरमै उब्जनी भएको तरकारी घरबासमा नै खपत हुने गरेको र तरकारीले समेत आम्दानी बढेको उनले बताइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button