बाग्लुङको तुरतुरेमा नौकाविहार

पोखरा न्यूज-१६, मंसिर ।

पहिरोले बडिगाड खोला थुनेपछि बनेको तुरतुरे तालमा नौकाविहार सञ्चालनमा ल्याइएको छ । ताल घुम्ने पर्यटकलाई लक्षित गरी व्यावसायिकरूपमा नौकाविहार शुरु गरिएको हो । ताल प्रभावित क्षेत्रका बासिन्दाले ताललाई आयआर्जनसँग जोड्न यस्तो जुक्ति निकालेका हुन् ।

स्थानीयबासीले ‘तुरतुरे ताल डुङ्गा सञ्चालन समिति’ समेत बनाएका छन् । तत्काललाई भाडाको डुङ्गा सञ्चालन गरिएको समितिका अध्यक्ष दिलबहादुर कुमालले बताए । दुईवटा डुङ्गा सञ्चालन गर्ने योजना समितिको छ । ढोरपाटन नगरपालिकाले समितिलाई डुङ्गा किनिदिने प्रतिबद्धता जनाएको । नगरपालिकासँगको छलफलपछि समिति डुङ्गा चलाउने निर्णयमा पुगेको हो । ‘नगरपालिकाले डुङ्गा उपलब्ध गराउने भएको छ’ अध्यक्ष कुमालले भने, ‘आम्दानी डुबान प्रभावितको जीविकोपार्जनमा खर्च गर्छौं ।’

पुरै ताल घुमेको प्रतिव्यक्ति रु. पाँच सय, आधा घुमेको रु. दुई सय पचास र विद्यार्थीलाई आधा छुट दिइएको उनले जानकारी दिए । नगर प्रमुख देवकुमार नेपालीले विपद् व्यावसायिक नौकाविहारको अवसर बनेर आएको बताए । ‘ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्छ’ उनले भने, ‘स्थानीयबासीलाई सघाउन नगरपालिका तयार छ ।’ नगरपालिकाले ताल क्षेत्रमा रेष्टुरेन्ट, पसल र अन्य आयमुलक व्यवसाय चलाउन सहुलियतमा ऋण दिइने जनाएको छ । ‘यहाँ आउने पर्यटकको सुविधाका लागि पूर्वाधारको खाँचो छ’ नगर प्रमुख नेपालीले भने, ‘तपाईंहरू घरबास (होमस्टे) योजना ल्याउनुस्, रेष्टुरेन्ट खोल्नुस् हामी सहयोग गर्छौं ।’

उनले तालमा माछापालन गर्न समेत स्थानीयबासीलाई सुझाए । जग्गा डुबानमा परेपनि तालबाट झन् ठूलो आम्दानी लिन सकिने उनको भनाइ थियो । नगरपालिका–२ सिमलचौर र खप्तरीबाङका ४८ परिवार तालबाट प्रत्यक्ष प्रभावित छन् । दुई घर, पाँच गोठसहित करीब सय रोपनी भन्दा बढी खेतीयोग्य जग्गा डुबानमा परेको छ ।

डुबानबाट क्षतिग्रस्त रामबहादुर कुमाल र शेरबहादुर कुमालको घर पनि नगर प्रमुख नेपालीले बनाइदिने घोषणा गरेका छन् । व्यावसायिक चालक गोपाल राना र नवीन थापाले स्थानीय युवालाई डुङ्गा चलाउन सिकाइरहेका छन् । स्थानीयरूपमा दक्ष चालक तयार भएपछि डुङ्गा सञ्चालन सहज र व्यवस्थित हुनेछ । गत भदौ ३० गते नगरपालिका र बडिगाड गाउँपालिकाको सीमामा गएको भीषण पहिरोले खोला थुनिँदा ताल बनेको हो । खोला नै थुन्ने गरी गएको पहिरो र ताल हेर्न शुरु देखि नै अवलोकनकर्ता आकर्षित बनेका थिए ।

हिउँदको सफा मौसममा तालको सौन्दर्य खुलेपछि तुरतुरे घुम्न जानेको सङ्ख्या बढ्दै गएको हो । एक वर्ग किलोमिटरभन्दा बढी क्षेत्रमा फैलिएको ताल अहिले प्राकृतिक झैँ देखिन थालेको छ । तत्काल ताल फुटाउँदा जोखिम निम्तिने खतरा भएपछि उही स्वरूपमा राखिएको हो । स्थानीय तह र गाउँलेले ताल सधैँलाई जोगाउने योजना बनाएका छन् ।

स्थानीयबासी अनबहादुर थापाले सकेसम्म ताल संरक्षण गरिनुपर्ने धारणा राखे । “ताल जोगाउन सरकारले पनि पहल गर्नुपर्छ”, उनले भने, “प्राविधिकरूपमा यसको अध्ययन हुन आवश्यक छ ।” हिउँदमा कुनै समस्या नभएपनि वर्षामा ताल के हुने हो भन्ने आशङ्का छ । केही वर्ष ताल जोगिए पनि पछि पुरिने सम्भावना कतिपयले औँल्याएका छन् ।

ताल मध्यपहाडी पुष्पलाल लोकमार्गकै छेउमा रहेकोे हुँदा पर्यटकलाई आवतजावत गर्न पनि सहज छ । तुरतुरे ताल सदरमुकाम बागलुङ बजारदेखि ९० किलोमिटरको दुरीमा छ । बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिँह पाइजाले जोखिम नहुने अवस्थामा मात्र ताल जोगाइने बताए । गत असोजमा नेपाली सेनाको प्राविधिक टोलीले तत्काललाई जोखिम टरेको भन्दै ताल नफुटाइ फर्केको थियो । “ताल फुटाउनै परेपनि सुख्खा याममा फुटाउने प्राविधिक टोलीको सुझाव छ”, अध्यक्ष पाइजाले भने , “भरसक ताल संरक्षण गर्ने प्रयासमा हामी छौँ ।”

ताल जोगाउन सके यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ । तर, वर्षामा आउने बाढीले ताल फुटाउने हो कि भन्ने त्रास तल्लो तटीय क्षेत्रका बासिन्दामा छ । गएको वर्षामा खोला थुनिँदा छिमेकी जिल्ला गुल्मी सम्मका दर्जनौँ बस्ती जोखिममा परेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button