ज्यान गुमाएका बालकको परिवारलाई राहत प्रदान

पोखरा न्यूज-१६, मंसिर ।

चितुवाको आक्रमणबाट ज्यान गुमाएका तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङको परिवारलाई राहत प्रदान गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले आज बिहान मृतकको घरमा पुगी मृतकका मामा हुमबहादुर गुरुङलाई राहत स्वरुप रु ५० हजार प्रदान गरेका हुन् । राहत हस्तान्तरण कार्यक्रममा डिभिजनल वन अधिकृत केदार बराल, भानु नगरपालिकाका प्रमुख उदयराज गौली, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डे उपस्थित थिए  ।

गोरखा सिङ्ला घर भई मामा विषबहादुर गुरुङको घरमा बसेर अध्ययन गर्दै आएका बालकको शनिबार राति चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । खाना खाएर हात धुन बाहिर निस्केका गुरुङलाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो । उनको उपचारको क्रममा डुम्रेस्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको थियो । अमृत स्थानीय मनकामना बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत थिए ।

राहत रकम हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले चितुवालाई नियन्त्रणमा लिन हरसम्भवको प्रयास गरिएको भन्दै सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरे । उनले चितुवा नभेटिएसम्म निरन्तर खोजी कार्य रहने भन्दै स्थानीय जनप्रतिनिधि, सामुदायिक वन र स्थानीयवासीले चितुवा खोज्नका लागि सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

भानु क्षेत्रमा ठूलो घना जङ्गल भएकोले जङ्गल सफा गर्ने अभियानमा सामुदायिक वनका उपभोक्ता लाग्न प्रमुख जिल्ला अधिकारी शर्माले आग्रह गरे ।

डिभिजनल वन अधिकृत बरालले चितुवाको आक्रमणबाट मृत्यु भएका बालकको परिवारलाई रु १० लाख क्षतिपूर्ति उपलब्ध गराइने बताए । उनका अनुसार नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिकाबमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिस सामान्य घाइते भएमा ५० हजारसम्म, गम्भीर घाइते भएमा एक लाखसम्म र मृत्यु भएमा निजका परिवारलाई अधिकतम १० लाख रुपैयाँसम्म उपलब्ध गराउने व्यवस्था रहेको छ ।

भानु नगरपालिकाले नरभक्षी चितुवा नियन्त्रणमा लिनेलाई पुरस्कारको व्यवस्था गर्ने भएको छ । नगरपालिकाका प्रमुख उदयराज गौलीले चितुवा नियन्त्रणमा लिनका लागि सबै प्रकारको उपाय अवलम्बन गरिने भन्दै नियन्त्रणमा लिनेलाई उचित पुरस्कारको व्यवस्था गरिने जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button