अन्तराष्ट्रिय पर्वतीय महोत्सव मंसिर २४ देखि पोखरामा

महोत्सवलाई प्रभावकारी बनाउन म्याराथन हुने

पोखरा न्यूज- १६, मंसिर ।

मंसिर २४ गते देखि पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हुने भएको छ । महोत्सबको प्रचारप्रसार गर्ने उद्देश्यका साथ म्याराथनको पनि आयोजना हुने भएको छ ।

विगत ४ बर्ष देखि जेनतेन संचालन हुदै आएको महोत्सबको पाचौं संस्करणलाई प्रभावकारी बनाउन म्याराथन सहितका विभिन्न खेलकुद प्रतियोगिताहरु हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । नेपाल पर्वतारोहण संघको आयोजनामा यही मंसिर २४ देखि २६ गतेसम्म पोखराको अन्तराष्ट्रिय पर्वतीय संग्रहालय (क्षेत्रिय म्युजियम) पोखराको रातोपहिरामा उक्त महोत्सव हुने भएको हो ।

डिसेम्वर ११ तारिख अर्थात अन्तराष्ट्रिय पर्वतीय दिवसको अवसरमा संघले महोत्सवमा हिमाली क्षेत्रका समुदायको परम्परागत सांस्कृतिक, नाचगान र झांकी तथा खेल पर्यटनको समेत विकास गर्ने उद्धेश्यले यस बर्ष नेपाली धावक बैकुण्ठ मानन्धरको नाममा एन.एम.ए.बैकुण्ठ मानन्धर हिमालयन म्याराथन हुने भएको संघका महासचिव कुलबहादुर गुरुङले बताए । उनका अनुसार अल्ट्राम्याराथन भएकोले गर्दा ४२ किलोमिटर भन्दा केही बढी ४५ किलोमिटर दुरी पुरुषको लागि र महिलाहरुको लागि हाफ म्याराथन आयोजना हुनेछ । पुरुषतर्फ म्याराथन बिजेताले एक लाख, उपविजेताले ५० हजार पुरस्कार रहेको उनले बताए । तेश्रो हुनेलाइ २५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।

पुरुष म्याराथनमा ५ सय र महिलाले हाफ म्याराथनमा २ सय ५० रुपैया तिरेर नाम दर्ता गराउन सक्ने छन् । त्यसैगरी एन.एम.ए.हिमालयन साईक्लिङ, एन.एम.ए. टोनी हेगन टुरिजम पेन्टीङ लगायतका प्रतियोगिता पनि हुने भएको छ ।महोत्सवमा खानाका विभिन्न परिकारलाइ समेत पुरस्कृत गरिने भएको छ । खानामा प्रथम हुनेलाइ १० हजार, दोश्रो हुनेलार्ई ७ हजार र तेश्रो हुनेलाइ ५ हजार पुरस्कारको व्यवस्था गरिने भएको संघका महासचिव गुरुङले जनाए ।

महोत्सवमा नेपाल पर्यटन बोर्डको मुख्य प्रायोजन रहेको छ भने डिसेम्वर ११ अर्थात मंसिर २५ गते विश्व प्रसिद्ध हिमाल आरोहीहरुलाइ सम्मान गरिने भएको संघका अध्यक्ष सन्तविर लामाले बताए । विज्ञान, प्रबिधि, खानाको परिकार, सूचना केन्द्र विभिन्न पर्यटकीय बस्तुहरुको समवेश गरी महोत्सवमा ४० वटा स्टलहरु उपलब्ध गराउने भएको अध्यक्ष लामाले जनाए ।

महोत्सवमा स्टल तथा दर्शकले प्रबेश गर्दा निशुल्क व्यवस्था गरिएको संघले जनाएको छ । महोत्सव सफल पार्न यस बर्ष ८१ सदस्य मुल आयोजक समिति गठन गरिएको छ । अघिल्ला बर्षमा महोत्सवमा धेरै खल्लोपन भएको हुँदा यस वर्षको देखि खेलकुदका विभिन्न कार्यक्रम समावेश गरिएको संघका कोषाध्यक्ष सुदर्शन न्यौपानेले जनाए । उक्त महोत्सव सम्पन्न गर्न करिब ८० लाख खर्च लाग्ने भएको संघले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button