बागलुङमा ढिस्कोले च्यापिएकी महिलाको उपचारमा दश लाख

पोखरा न्यूज– १८, मंसिर 

माटो खन्दा ढिस्कोले च्यापिएर घाइते महिलाको उपचार सहयोगार्थ सञ्चालित अभियानमा रु दश लाख जुटेको छ । घाइते बागलुङ नगरपालिका–५ मालिकाकी निशा भण्डारी केसीको उपचारमा सघाउन आर्थिक अभियान चलाइएको थियो ।

सङ्कलित रकम सोमबार केसीलाई हस्तान्तरण गरिएको ‘निशा भण्डारी केसी बचाऊ अभियान’का संयोजक तेजबहादुर कुँवरले बताए । “देश विदेशबाट धेरैको सहयोग रह्यो”, उनले भने, “रु पाँच लाख नगद दियौँ, पाँच लाख उहाँकै नाममा खाता खोलेर सहकारीमा जम्मा गरिदिएका छौँ ।”

पूर्वसांसद प्रकाश शर्मा पौडेल, नेपाल रेडक्रस सोसाइटी बागलुङका उपसभापति राजेन्द्र आचार्यलगायतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको थियो । पूर्वसांसद पौडेलले जनस्तरबाट चल्ने यस्ता अभियानले सकारात्मक सन्देश दिने बताए । “यो नै सच्चा मानवीय कर्म र दायित्व हो”, उनले भने, “सबैको सहयोगकै भरमा उपचार सम्भव भएको छ ।”

२३ वर्षीय केसीको उपचारमा यो अभियानबाहेक अन्य क्षेत्रबाट पनि सहयोग प्राप्त भएको छ । मालिका सेवा समाजलगायतका देश विदेशमा रहेका व्यक्ति र संस्थाबाट झण्डै थप रु आठ लाख जति सहयोग जुटेको थियो । गत असोजमा रातो माटो खन्ने क्रममा पुरिएर गम्भीर घाइते हुनुभएकी केसीको मेरुदण्डदेखि तलको भाग नचल्ने अवस्थामा पुगेको छ ।

काठमाडौँमा उपचार गरेर फर्कनुभएकी केसीलाई नियमित स्वास्थ्य जाँच गरिरहनुपर्ने चिकित्सकले बताएका छन् । ओछ्यान परे पनि खान, बोल्न भने कुनै समस्या छैन । शरीरको तल्लो भाग नचलेपछि सहारा र हेरचाहको खाँचो छ । उपचारमा रु दश लाखभन्दा बढी रकम खर्च भइसकेको उनका श्रीमान गोविन्दले बताए ।

“केही रकम सहकारीको मुद्दती खातामा राखेका छौँ”, उनले भने, “उपचारमा आवश्यकता पर्दा सो रकम प्रयोग गर्छौं ।” उपचारमा आएको सहयोग र खर्चको हिसाबकिताब पछि सार्वजनिक गरिने परिवारले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button