तनहुँमा चितुवा निगरानी गर्न क्यामरा ट्रयापिङ

पोखरा न्यूज – १९, मंसिर ।

तनहुँको भानु नगरपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि क्यामरा ट्र्यापिङ जडान गरिएको छ । नरभक्षी चितुवाको निगरानीका लागि चितवन राष्ट्रिय निकुञ्जका प्राविधिकले राष्ट्रिय प्रकृति संरक्षण कोषको डार्टिङ प्रविधिसहितको चार वटा क्यामरा ट्रयापिङ जडान गरेका हुन् ।

डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत बाबुराम उप्रेतीले चितुवा हिँड्न सक्ने चार स्थानमा क्यामरा ट्रयापिङ जडान गरिएको जानकारी दिए । उनका अनुसार क्यामरा ट्रयापिङबाट चितुवाको गतिविधि पत्ता लगाउन सकिन्छ । “यो प्रविधिबाट चितुवा कता गइरहेको छ भन्ने पत्ता लगाउन सकिन्छ”, उनले भने । नगरपालिकाको ढल्केवर, पाउदुरे खोला, तिलानकोटे जङ्गल र रिठ्ठाबोटे गाउँमा क्यामरा ट्रयापिङ जडान गरिएको छ ।

यसैबीच नरभक्षी चितुवालाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय तनहुँले नेपाल प्रहरी, सशस्त्र प्रहरी, सशस्त्र वन रक्षकलगायतलाई परिचालन गरिरहेको छ । प्रहरीलाई स्थानीयबासीले समेत साथ दिएका छन् । नगरपालिका–२ का वडाध्यक्ष अर्जुन केसीले वडाभित्रका प्रत्येक घरधुरीका एक-एक जना चितुवालाई नियन्त्रणमा लिनका लागि घरेलु हतियारसहित खटिएको जानकारी दिए ।

चितुवा नियन्त्रणको लागि खोर बनाई प्रत्येक साँझ बाख्रासहितको पासो थापिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । उनका अनुसार सामुदायिक वन उपभोक्ता समूहबाट वन क्षेत्रको झाडी सफा गर्ने, साँझ बिहानको समयमा प्रहरी गस्ती गर्ने र स्थानीय एफएम रेडियोबाट सुरक्षा उपायको जानकारीमूलक सूचना प्रशारण गर्ने काम भइरहेको छ ।

चितुवाको वास्तविक अवस्था थाहा पाउन चितुवाको दिसा र रौँ समेतको परीक्षणको लागि पठाउने व्यवस्था मिलाइएको शर्माले जानकारी दिए । चितुवा नियन्त्रणमा नआएसम्म सुरक्षा फौज र स्थानीय समुदायको परिचालन निरन्तर भइरहने समेत उनले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button