तनहुँमा विद्युत् चोरी गर्ने २५ जनालाई कारवाही

पोखरा न्यूज – १९, मंसिर ।

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् चोरी गर्ने २५ जनालाई कारवाही गरेको छ । बन्दीपुर गाउँपालिका र भानु नगरपालिकाको विभिन्न स्थानमा गरिएको अनुगमनबाट अनधिकृतरूपमा विद्युत् चोरी गर्ने २५ जनालाई कारवाही गरिएको हो ।

केन्द्रका प्रमुख शिव गोशलीले घरायसी प्रयोजन र साना उद्योगका ग्राहकले अनधिकृतरूपमा विद्युत् चोरी गरेको पाइएकाले उनीहरूलाई नियमअनुसार कारवाही गरिएको जानकारी दिए । उनका अनुसार तीमध्ये एमसिवी बाइपास गरी प्रयोग गर्ने १८, डाइरेक्ट हुकिङ गर्ने एक र मिटर बाइपास गर्ने पाँच जना रहेका छन् ।

विद्युत् चोरी नियन्त्रण ऐन २०५८ को दफा ११ अनुसार निजहरुलाई कारवाही गर्दा रु ७९ हजार ४२१ राजश्व असुली भएको गोशलीले बताए ।

यसैबीच वितरण केन्द्रले बन्दीपुर गाउँपालिका र भानु नगरपालिकाका विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेर रु १४ लाखभन्दा बढी बक्यौता असुल गरेको छ । मङ्सिर महीनामा मात्रै त्यस ठाउँका ११८ ग्राहकको लाइन काटेर रु १४ लाख ६५ हजार ९४५ असुल भएको केन्द्रले जनाएको छ । बन्दीपुर र भानु क्षेत्रमा मात्रै अझै पनि रु ५० लाख बक्यौता रहेको केन्द्रले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button