बागलुङ स्थित ताराखोलाको झरनामा लोभिए पर्यटक

पोखरा न्यूज – १९, मंसिर ।

वरिपरि हरियाली । छेवैँमा छ दरमखोला । सँगसँगै रहेको छ अग्लो पहाडबाट छङ्छङ् झरेको झरना । जिल्लाको ताराखोला गाउँपालिका–१ मा रहेको गाईघाटको झरनास्थल पुग्दा जो कोहीको मन फुरुङ्ग हुन्छ । व्यस्त दैनिकी छलेर त्यहाँ पुग्नेले तनाव बिर्सन्छन् । प्रकृतिमा नजर अडाउँछन् र मन शान्त पार्छन् ।

केही वर्ष अघिसम्म चर्चामा नआएको गाईघाट झरनाले अहिले मुहार फेरेको छ । गाउँलेले प्रकृतिको देन भनेर पुकार्ने रमणीय आकर्षक झरना पर्यटकीय गन्तव्य बनेको छ । पूर्वाधार र प्रचारप्रसारले झरना आगन्तुकको रोजाइमा परेको हो । भदौदेखि यता दुई हजार बढीले झरना घुमेका छन् ।

प्रकृतिप्रेमी आन्तरिक पर्यटक त्यहाँ पुग्ने क्रमसँगै गाईघाटको सो झरनाको चिनारी फैलिँदै गएको छ । व्यवस्थापन र विकासको जिम्मा अहिले गाउँपालिकामा सरेको छ । गाउँपालिकाले झरना घुम्नको लागि प्रतिव्यक्ति रु ३० शुल्क तोकेको छ । टिकटको जिम्मा बोलपत्र आह्वानमार्फत स्थानीय नरेश केसीले पाउएका छन् । सदरमुकाम बागलुङ बजारदेखि ५० किमी मोटरयात्रामा गाईघाट पुग्न सकिन्छ ।

“वार्षिक ३५ हजारमा ठेक्का दिइएको छ”, गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले भने, “गाईघाट क्षेत्रकै विकासमा सहयोग पुगोस् भनेर शुल्क लिएका हौँ ।” विद्यार्थीलाई भने ५० प्रतिशत छुट दिइएको छ । चाडबाड र बिदाको दिन दैनिक १०० भन्दा बढी पर्यटक आउने गरेको टिकट बेच्ने अम्मरबहादुर नाइसाले बताए । “भदौ यता घुम्नेको सङ्ख्या दुई हजार बढी नाघ्यो”, उनले भने, “शैक्षिक भ्रमण, वनभोजका लागि पनि मानिसहरु आउँछन् ।”

गीतको छायाङ्कन गर्ने पनि बेलाबखत गाईघाट पुग्छन् । ५० मिटर अग्लो झरनाको भित्रपट्टि रहेको गुफाले पनि पर्यटकलाई आकर्षित गर्छ । आन्तरिक पर्यटक बढ्दै जान थालेपछि गाउँपालिकाले झरना प्रवद्र्धनको योजना ल्याएको छ । चार वर्षअघि गलकोट घुम्टे पर्यटन विकास केन्द्रको पहलमा झरनाको योजनाबद्ध विकास अघि बढेको थियो । सरकारी सहयोग र जनश्रमदानबाट झरना छेउँ पौडी पोखरी, वनभोज, विश्रामस्थल, पदमार्गलगायतका संरचना बनेका छन् ।

गुफालाई धार्मिक आस्थासँग जोडेर पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ । ५० जना जति अट्ने गुफा केही वर्षअघि फेला परेको थियो । झरनादेखि नजिकै रहेको भूताह गल्छीसम्म पुग्न पदमार्ग बनाउने योजना छ ।

झरनामा छाँगावरोहण ‘क्यानोनिङ’ को राम्रो सम्भावना रहेको केन्द्रका वरिष्ठ उपाध्यक्ष राज थापाले बताए । गर्मी याममा झरना अवलोकनसँगै छाँगावरोहण र प्राकृतिक तलाउमा पौडी खेल्ने गरी पूर्वाधार विकास गरिनुपर्ने उनको भनाइ छ । “आडैको दरमखोलामा माछा मार्न रुचाउने पनि यहाँ आकर्षित हुन सक्छन्”, वरिष्ठ उपाध्यक्ष थापाले भने । कहिल्यै पनि धमिलो पानी नखस्ने हुँदा झरनाको सौन्दर्य हरेक याममा उस्तै देखिन्छ । झरनालाई ताराखोला गाउँपालिका छिर्ने प्रवेशद्वारको रुपमासमेत लिइन्छ ।

गलकोट नगरपालिका र ताराखोला गाउँपालिका जोड्ने सडक आडमै रहेकाले आवातजावत सहज छ । केही मिनेटको यात्रामा बजार क्षेत्र पुगिने हुँदा पर्यटकलाई खाना, बासको पनि समस्या छैन । हल्का खाजा बेच्ने पसल गाईघाटमै पनि छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button