जोमसोम–कोरला सडक स्तरोन्नति

पोखरा न्यूज – १९, मंसिर ।

मुस्ताङको सदरमुकाम जोमसोमदेखि चीनको सिमाना कोरला नाका जोड्ने सडकअन्तर्गत छोसेर–कोरला खण्डको सडक स्तरोन्नति भएको छ ।

कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाले लोमान्थाङ गाउँपालिका–१ छोसेरदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पर्ने कोरला नाकाको २४ नम्बर पिलरसम्मको १६ किलोमिटर सडक स्तरोन्नति गरेको हो ।

जोमसोम–कोरला खण्डमा सात वटा प्याकेजमा भइरहेको सडक स्तरोन्नति आयोजना मध्ये कोरला नाकातर्फको अन्तिम प्याकेजको काम सकिएको आयोजनाका इञ्जिनीयर जगत प्रजापतिले जानकारी दिए ।

ट्र्याक मात्र खोलिएको अवस्थामा रहेको सडकलाई ११ मिटर फराकिलो, नाली, ग्यावियन पर्खाल, मेशिनरी पर्खाल निर्माण र ग्राभेल गरिएको छ । विसं २०७३ देखि सडक स्तरोन्नतिको काम शुरु भएको थियो ।

रु ४८ करोड लागत अनुमान गरिएको छोसेर–कोरला सडक स्तरोन्नतिका लागि दिवा–रौताह–एपेक्स जेभीले रु २९ करोडमा ठेक्का लिएको थियो । समुद्री सतहदेखि चार हजार ६०० मिटरको उचाइको भूगोलमा प्रतिकूल मौसम भएपनि पर्याप्त मजदुर र उपकरण परिचालन गरेर सम्झौता अवधिभित्रै काम सकेको निर्माण कम्पनीका प्रतिनिधि सकबहादुर लालचनले बताए ।

यसअघि कागबेनी–मुक्तिनाथ सडक कालोपत्रेको काम पनि निर्धारित समयमै सकेको बताउँदै लालचनले जोमसोम विमानस्थल विस्तार तथा स्तरोन्नतिको काम पनि लक्षित समयमै सम्पन्न गर्ने बताए ।

११० किलोमिटर दूरीको जोमसोम–कोरला सडकअन्तर्गत अन्य छवटा प्याकेजको भौतिक प्रगति ७० प्रतिशतभन्दा बढी रहेको आयोजनाले जनाएको छ । सडक स्तरोन्नतिसँगै कोरला नाका खुलाउनका लागि सुरक्षा तयारी र चीन सरकारसँग कूटनीतिक पहल भइरहको प्रतिनिधिसभा सदस्य पे्रमप्रसाद तुलाचनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button