देशभर चिसो बढ्ने क्रम जारी

पोखरा न्यूज –२०, मंसिर ।

पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि निरन्तर तापक्रम घट्दै गएकाले चिसो बढेको छ ।

उक्त वायुको प्रभावले बदली गराउनाका साथै तापक्रम पनि क्रमशः घट्दै गएकाले बढी चिसो महसुश गरिएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री पुगेको छ । हिजो बुधबार काठमाडौँको न्यूनतम तापक्रम ६ र अधिकतम तापक्रम १९ डिग्रि सेल्सियस रहेको थियो । जाडो याम शुरु भइसकेकाले न्यूनतम तापक्रम तिरन्तर घट्नाका साथै चिसो बढ्ने वरिष्ठ मौसमविद् सुजन सुवेदीले जानकारी दिए । सामान्यतः डिसेम्बरदेखि फेब्रुअरीसम्म जाडो याम मानिन्छ ।

मौसमविद् सुवेदीका अनुसार पश्चिमी वायुको प्रभावका साथै यावुमण्डलमा विकसित भएका स–साना गतिविधिका कारण मौसममा खराबी आएको हो । अहिले पानी पार्ने प्रणालीको विकास हुन सकेको छैन उक्त प्रणाली सक्रिय भए चिसो झनै बढ्नेछ । महाशाखाले आज मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र मध्य पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना औँल्याएको छ ।

रातको समयमा पनि पश्चिमी पहाडी भेगमा सामान्य बदली र मध्य तथा पूर्वका भू–भागमा आंशिक बदली रहने र पश्चिमका उच्च पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । भोली पनि पूर्वी पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पूर्वी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

© Copyright 2019, All Rights Reserved | Pokhara News | नोट : यस पोखरा न्यूज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा समाचारको अंश हाम्रो अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जान बाध्य हुने छौ ।

प्रतिक्रिया

तपाइको इमेल गोप्य राखिनेछ । अनिवार्य भर्नुपर्ने ठाउँ *

Back to top button
Close