म्याग्दीमा सुविधासम्पन्न स्वास्थ्यचौकी निर्माण

पोखरा न्यूज – २१, मंसिर ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमो सुविधासम्पन्न स्वास्थ्यचौकी निर्माण भएपछि साँघुरो कोठाबाट सेवा प्रवाह गर्नुपर्ने समस्या हटेको छ ।

हाल वडा कार्यालय रहेको तत्कालीन नारच्याङ गाविसको भवनका दुई कोठामा स्वास्थयचौकी सञ्चालन हुँदै आएकामा नयाँ भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज भएको हो ।

बिरामीले गोप्य कोठाको अभावमा आफ्नो समस्या खुलेर व्यक्त गर्न नसक्ने अवस्था थियो तर अहिले छुट्टाछुट्टै कार्यकक्षसहितको भवन भएपछि खुलेर आफ्नो समस्या व्यक्त गर्न पाइएको स्थानीयवासी हुममाया गर्बुजा पुनले बताए।

छकोठे एकतले नयाँ भवनमा ओपीडी, गर्भजाँच, भण्डारण, ड्रेसिङ, प्रशासन, बिरामी भर्ना र निर्मलीकरण गर्ने कक्ष छन् । प्रसूति सेवा पनि सञ्चालन गर्ने तयारी भएको स्वास्थ्यचौकी प्रमुख अर्जुन रानाले जानकारी गराए । अनमी सनम गर्बुजाका अनुसार भवन अभावमा प्रसूति सेवा उपलब्ध गराउन नसक्दा महिला प्रसूति सेवाका लागि भुरुङ–तातोपानी र बेनी पुग्ने गरेका थिए ।

पोखरास्थित लायन्स क्लब अन्नपूर्णको रु ३६ लाखको सहयोगमा स्वास्थ्यचौकी निर्माण गरिएको वडाध्यक्ष चन्द्रप्रकाश फगामीले बताए । क्लबले अमेरिका–नेपाल मेडिकल फाउण्डेशनमार्फत भवन बनाउन सहयोग जुटाएको जनाएको छ ।

स्वास्थ्यचौकी निर्माणका लागि तत्कालीन नारच्याङ गाविसले करीब रु नौ लाख खर्च गरेर तीन रोपनी जग्गा खरिद गरेकामा अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७४-७५ रु पाँच लाख उपलब्ध गराएर जग्गा सम्याइएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button