पर्वतमा अकबरे खुर्सानी बेचेरै दुई लाख आम्दानी

पोखरा न्यूज – २१, मंसिर ।

रोजगारी अवसरको खोजीमा युवाहरू विदेश जानेक्रम बढिरहेका बेला पर्वतका एक युवाले अकबरे खुर्सानी बेचेरै राम्रो कमाइ गरेका छन् । जिल्लाको महाशिला गाउँपालिका वडा नं ५ लुङ्खुका प्रकाश क्षेत्रीले व्यावसायिकरूपमा अकबरे खुर्सानी खेती गर्दै गाउँमै बसेर राम्रो आम्दानी गरिरहेका छन् ।

आठ रोपनी जमीनमा खुर्सानी लगाउनुभएका क्षेत्रीले एकपटकको उत्पादनबाट मात्र रु दुई लाख कमाउन सफल भएका छन् । उनले अहिलेसम्म १२ क्विन्टल खुर्सानी उत्पादन भएको र अब यही वर्षमै सोही परिमाणकै खुर्सानी फल्ने बताए । परीक्षणकै क्रममै राम्रो उत्पादन दिएका कारण खुर्सानी खेतीलाई अझै बिस्तार गर्ने उनको योजना छ ।

गाउँपालिकाका अधिकांश वडामा विगतमा तरकारी बाहिरबाट आउने गरेको थियो । पछिल्लो समयमा गाउँपालिकाको सक्रियता र स्थानीयवासीले पनि घरमै तरकारी उत्पादन गर्नुपर्छ भन्ने सोचले बाहिरबाट तरकारी आयात हुनेक्रम घट्दै गएको छ ।

खुर्सानीसमेत ठूलो परिमाणमा महाशिलामा भित्रिँदै आएकामा क्षेत्रीले त्यसलाई रोकेरै छाड्ने दाबी गरेका छन् । अहिले अकबरे खुर्सानी मात्र लगाएका प्रकाशले यही वर्षबाट रागे खुर्सानीको उत्पादन पनि शुरु गर्ने बताए । यसका लागि उनले भारतको सिलोङ पुगेर रागे खुर्सानीको बीउसमेत ल्याइसकेका छन् ।

युवा कृषक क्षेत्रीको आम्दानी देखेर वडामा अन्य युवासमेत तरकारी खेतीप्रति आकर्षित हुनेक्रम बढेको महाशिला– ५ का वडाध्यक्ष जीवन उच्चै ठकुरीले बताए । उनले भने, “तरकारीमा आत्मनिर्भर बन्नुपर्छ भन्ने अभियान शुरु गरेको गाउँपालिकाले अबको केही वर्षमा निर्यातको बाटो तय गर्दैछ । यो खुशीको कुरा हो ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button