घान्द्रुक–घोडेपानी–पुनहिल पदमार्गमा एक कप पानीको ५० रुपैयाँ !

पोखरा न्यूज – २१, मंसिर ।

घान्द्रुक–घोडेपानी–पुनहिल पदमार्गमा रहेका होटेल तथा रेस्टुरेन्टले पदयात्रामा जाने पर्यटकसँग खानाको चर्को मूल्य लिइरहेका छन् । सम्बन्धित निकायले यहाँका होटेल तथा रेस्टुरेन्टमा नियमित अनुगमन नगर्दा होटेलैपिच्छे खानाको मूल्य फरक र चर्को छ ।

खाना मात्रै होइन, होटेलहरूले एक घन्टा मोबाइल चार्ज गरेबापत ५० देखि एक सय रुपैयाँसमेत लिने गरेका छन् ।

पोखराबाट घान्द्रुकसम्म मोटरबाटो पुगेको छ । यहाँबाट करिब चार घन्टा हिँडेपछि देउराली र यहाँबाट पनि करिब ५ घन्टा हिँडेपछि घेडेपानी हुँदै पुनहिल पुग्न सकिन्छ । म्याग्दीको उल्लेरीबाट जाँदा उल्लेरीसम्म मोटरबाटो छ । यहाँबाट करिब ३ देखि ४ घन्टाको हिँडाइपछि घेडेपानी हुँदै पुनहिल पुगिन्छ ।

पदमार्गमा रहेका होटेल तथा रेस्टुरेन्टले भने मोटरबाटो नभएको र घान्द्रुकदेखि हरेक सामान बोकेर ल्याउन महँगो पर्न गएको बताएका छन् । सामान ढुवानी गर्दा धेरै मूल्य तिर्नुपरेकाले अलि मूल्य महँगो हुन गएको उनीहरूको भनाइ छ । धान्दु्रक र घेरेपानीबाहेक पदयात्रामार्गमा रहेका अधिकांश होटेल तथा रेस्टुरेन्टहरू सार्वजनिक स्थलमा छन् ।

वातावरणमा प्रभाव पर्ने भन्दै अन्नपूर्ण संरक्षण क्षेत्र (एकयाप)ले घान्द्रुक देखिमाथि मिनरल वाटरको बोतल लैजान रोक लगाएको छ । तर, यही मौका छोपेर यहाँका होटेल तथा रेस्टुरेन्टले स्थानीय धाराको पानी फिल्टर गरी बोतलमा भरेर एक सय रुपैयाँमा बेच्ने गरेका छन् । करिब एक साताअघि त्यस क्षेत्रको भ्रमणमा गएका पर्यटन बोर्ड पोखराका प्रशासन एवं कार्यक्रम अधिकृत प्रदीप गैरेले होटेलहरूले खानामा अत्यधिक मूल्य लिइरहेको स्वीकारे । उनले सम्बन्धित निकायले अनुगमन गरी मूल्यमा एकरूपता गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘उचाइअनुसारको ढुवानी लागत हेरी खानाको मूल्य निधारण गर्न आवश्यक छ ।’

‘मूल्य एकरूपताका लागि पहल गर्छौँ’
अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष युवराज कुँवरले पदयात्रामार्गका होटेल तथा रेस्टुरेन्टमा खानाको मूल्य एकरूपता गर्न पहल गर्ने बताएका छन् । ‘यहाँका होटेल रेस्टुरेन्टमा खाना निकै महँगो भएको गुनासो धेरै आएको छ । अब सरोकारवालालाई बोलाएर के गर्न सकिन्छ छलफल गर्छाैँ ।’ छिट्टै नै त्यस क्षेत्रका व्यवसायी र व्यावसायिक समितिलाई राखेर छलफल गरी गुनासो नआउने गरी निर्णयमा पुग्ने उनको भनाइ छ ।

मूल्य सोधेर मात्रै खाना खानुहोस्
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप) घान्द्रुकका प्रमुख विदुर कुइँकेलले यहाँका होटेलहरूको मेनुमा रहेको मूल्य हेरेर मात्रै खाना खान सुझाब दिए । पहिला नै मूल्य तय गरेर खाना खाँदा पछि झगडा नहुने उनको भनाइ छ । उनले भने, ‘सीधै अडर गरेर खाए पछि पैसा तिर्दा होटेल तथा रेस्टुरेन्ट सञ्चालकहरूले मेनुअनुसारको मूल्य लिन्छन् ।’ अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकबाट सुरु हुने पदयात्रामार्गमध्ये भैँसीखर्कको उचाइ दुई हजार ४ सय ८० मिटर छ भने त्यहाँबाट माथि टाडापानी दुई हजार ६ सय ८० मिटर छ ।

रोहितराज पराजुली, नयाँ पत्रिका 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button