म्याग्दीको खोप्रामा चारवटा सामुदायिक लज बनाइने

पोखरा न्यूज -२३, मंसिर ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा रहेको पर्यटकीयस्थल खोप्रा लेकमा थप चारवटा सामुदायिक लज बनाइने भएको छ । पहाडकी अप्सरा (परी)को नामले परिचित कठिन पहाडी भूगोलको शिरमा अवस्थित खोप्रा लेकमा पछिल्लो समय ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेपछि स्थानीय बासिन्दाहरु खोप्रामा पूर्वाधार निर्माण गर्न कस्सिएका हुन् ।

गत सोमबार खोप्राको प्रवेशद्वार मानिने पाउद्वार गाउँमा बागवीर पाइजाको अध्यक्षतामा बसेको एक्यापका प्रमुख विदुर कुइँकेल र स्थानीय अगुवाको बैठकले एकवटा मात्र सामुदायिक लज भएको खोप्रामा थप चारवटा नयाँ सामुदायिक लज बनाउने निर्णय गरेको एक्यापका सदस्य तथा खोप्रा सामुदायिक लजका कोषाध्यक्ष भीम पुनले जानकारी दिए ।

उनका अनुसार बैठकले बयलीमा थप एक, डाँडाखर्कमा एक र आलखर्कमा थप दुईवटा सामुदायिक लज निर्माण गर्ने निर्णय गरेको छ । “सामुदायिक लज थप गर्न स्थानीयवासीको पहिलेदेखि नै माग थियो तर पर्यटकको आगमन कम भएकाले हामीले थप गर्ने अनुमति दिएका थिएनौँ,” एक्यापका सदस्य पुनले भने । खोप्रा लेकमा पुगेका आन्तरिक तथा बाह्य पर्यटकले एउटा मात्र सामुदायिक लजमा ठाउँ नपाएपछि टेण्ट लगाएर बाहिर बस्नु परेको गुनासो गरेका छन् ।

त्यहाँ पुगेका आन्तरिक तथा बाह्य पर्यटकको गुनासो आउन थालेपछि स्थानीयवासीले आफ्नै लगानीमा थप चारवटा सामुदायिक लज विस्तार गर्ने निर्णय गरेका हुन् । पछिल्लो समयमा खोप्रा बयली, डाँडाखर्कमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button