निजी क्षेत्र मैत्रि वातावरण तयार पार्छौं – मन्त्री गुरुङ

यूआरएलद्धारा सरकारलाइ १५ लाख राजश्व

पोखरा न्यूज, २३ मंसिर ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सरकार निजीक्षेत्र मैत्रि बातावरण तयार पार्न लागिपरेको बताएका छन् ।

पोखराको युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) को आइतबार पोखरामा भएको पाँचौं वार्षिकोत्सव तथा पत्रकार सम्मान समारोहमा वोल्दै मन्त्री गुरुङले सरकारले निजीक्षेत्र मैत्रि कानुन बनाएर व्यवसायीक सुरक्षाको ग्यारेन्टी दिने  बताएका हुन् । मंसिर महिना भरी प्रदेश सरकारले कार्यविधि बनाएर कार्यान्वयनमा जानेसमेत उनले जनाए । मन्त्री गुरुङले स्वाधीन अर्थतन्त्र निर्माणका लागि गण्डकी प्रदेशले समृद्धिको खाका बनाइरहेको जनाउदै प्रदेशमा मृटु, क्यान्सर र मृगौलाको विशिष्टिकृत अस्पताल बनाउने योजना रहेको समेत बताए ।

मन्त्री गुरुङले भिखारी मानसिकताले देशको आर्थिक विकास र समृद्धि हासिल गर्न नसकिने उल्लेख गर्दै विदेशीसंग हात थाप्ने मानसिकताले देशले दिगो रुपमा आर्थिक विकास र समृद्धि हासिल गर्न नसक्ने ठोकुवा गरे । उनले भने “ समृद्धि नेपाल अब हामी आफैले बनाउनु पर्छ, समृद्धि बनाउने नाममा विदेशीसंग भिखारी मानसिकताले हात थाप्ने होईन, हामी हरेक कुरामा सक्षम छौं, हामीसंग पैसाको पनि कुनै अभाव हुदैन। ” समारोहमा मन्त्री गुरुङले युआरएल पत्रकारिता पुरस्कार २०७५ बाट पत्रकार यदुनाथ वञ्जारालाई नगद १५ हजार र ताम्रपत्रसहित सम्मान गरे ।

समारोहमा बोल्दै नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्त श्रेष्ठले पोखराको स्वास्थ्य क्षेत्रमा यूआरएल जस्ताले नयाँ आयाम थपेको बताए । गण्डकी मेडिकल कलेजका प्रिन्सिपल प्रा।डा। रवीन्द्र श्रेष्ठले स्वास्थ्य क्षेत्रमा पछिल्लो समय आशातीत प्रगति भए पनि केही विकृतिले जरो गाडेको बताए । प्राइभेट हस्पिटल एसोसियसन गण्डकीका अध्यक्ष अशोक पालिखेले सरकारी अस्पतालको तुलनामा तीन गुना बढी सेवा निजी अस्पतालले दिइरहेको दाबी गरे । निजी क्षेत्र सक्षम भए पछि मात्र राज्यलाई कर संकलन गर्न उनले आग्रह गरे ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले गत आर्थिक बर्षमा ४ करोड २० लाखको कारोवार गर्दा सस्थाले ६० लाख नाफा कमाउन सफल भएको बताए । उनले मुनाफा कर अन्र्तगत १५ लाख राज्यलाई कर तिरेको समेत जनाए । ल्याबले नाफाभन्दा बढी सामाजिक दायित्वलाई मध्यनजर गरेको उनको भनाइ थियो ।

युआरएलका अध्यक्ष सुशील थापाले गण्डकी प्रदेशलाई रक्त परीक्षणमा आत्मनिर्भर बनाउन आफूहरु लागिरहेको बताए । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वद्रिविनोद प्रतिक, पत्रकार कमल पौडेल ‘अथक’, युआरएलका निर्देशक दिनेशबाबु खड्का, पत्रकार ऋषि खतिवडा लगायतले स्वास्थ्यको बारेमा चर्चा गरे ।

उक्त अवसरमा युआरएलका कर्मचारी जोनी सारा रानालाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button