बेनीमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

पोखरा न्यूज- २५, मंसिर।

विकट म्याग्दीको रघुगङ्गा गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच वृद्धि र गुणस्तर सुधारमा गाउँपालिकाले पहल थालेको छ ।

दुर्गम बस्ती भएका कारण गाउँवासीलाई प्राथमिक स्वास्थ्य सेवा पाउन कठिन भएकाले उक्त गाउँपालिकाले वडा नम्बर ४ दर्मीजामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको हो । वडा नम्बर ७ को कुइनेखानीमा समेत स्वास्थ्य एकाइ स्थापना गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

अहिले दरमिजामा स्वास्थ्य एकाइ स्थापना भएपछि भिरको बाटो हिँडेर दग्नाममा रहेको वडास्तरको स्वास्थ्यचौकीमा पुगेर स्वास्थ्य सेवा लिनुपर्ने बाध्यताबाट दरमिजावासीले मुक्ति पाएका छन् । एक अहेब र एक कार्यालय सहयोगी रहने एकाइबाट स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा उपलब्ध गराइने वडाध्यक्ष एकबहादुर गर्बुजाले जानकारी दिए ।

एकाइ स्थापनापछि १०६ घरधुरीको बसोबास रहेको दर्मीजावासीलाई सामान्य बिरामी हुँदा पनि दुई घण्टा जङ्गल र भिरको बाटो हिँडेर दग्नाम स्वास्थ्यचौकी पुग्नुपर्ने बाध्यता हटेको छ ।

यसैबीच घरमै हुने प्रसूति सेवालाई न्यूनीकरण गर्न उक्त गाउँपालिका–५ झिँमा सुरक्षित प्रसुति सेवा शुरु गरिएको छ । वडा कार्यालयको सिफारिशमा गाउँपालिकाले उपलब्ध गराएको रू दुई लाख २२ हजारबाट प्रसूति सेवाका लागि आवश्यक सामग्री गरिद गरी उक्त स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर प्रसूति सेवा सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक टीका शाहीले जानकारी दिइन् ।

ग्रामीण भेगमा महिला असुरक्षित तवरले सुत्केरी हुनुपर्ने र सदरमुकाम झरेर खर्चिलो सेवा लिनुपर्ने बाध्यता हटाउन गाउँमै सो सेवा विस्तार गरिएको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए । सो अवसरमा झिँ स्वास्थ्यचौकीमा आएर नियमित स्वास्थ्य जाँच गराउने तीनसुत्केरी आमालाई सम्मानसमेत गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button