कालीगण्डकी कोरिडोरमा धमाधम टावर निर्माण

पोखरा न्यूज- २५, मंसिर।

म्याग्दी र मुस्ताङका जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न निर्माण शुरु गरिएको कालीगण्डकी कोरिडोर प्रसारण लाइनको निर्माण कामले गति लिएको छ । कोरिडोर अन्तर्गत म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रसारण लाइन र सब–स्टेशन निर्माण कार्यले गति लिएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोटमा विद्युत् सब–स्टेशन निर्माण भैरहेका छन् ।

जलविद्युत् विकासमा यस क्षेत्रको भाग्यरेखा मानिएको यस आयोजनाको निर्माण कार्य अघि बढे सँगै यस क्षेत्रमा रहेका जलविद्युत् आयोजनाहरुले समेत आफ्नो निर्माण कार्यलाई तीब्रता दिन थालेका छन् । दानामा ७० र खुर्कोटमा ६० प्रतिशत सब–स्टेशन निर्माण कार्य सकिएको यस आयोजनाको टावर निर्माणसँगै तार तान्ने कामसमेत अघि बढाइएको आयोजनाका सहायक निर्देशक रमेश खड्काले जानकारी दिए । “दाना–खुर्कोटसम्म ११४ वटा टावर निर्माण गर्नुपर्नेमा अहिलेसम्म ६५ वटा टावर निर्माण सम्पन्न भएको छ, २० भन्दा बढी ठाउँमा फाउण्डेशन तयार भएको छ, तिप्ल्याङ, महभिर र धाईरिङबाट तार तान्ने काम पनि सँगसँगै अघि बढेको छ” – सहायक निर्देशक खड्काले भने ।

एशियाली विकास बैङ्कको ऋण सहयोगमा करीब २ अर्ब ७५ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको जेभी टाटा एण्ड चिन्ट इलेक्ट्रिक कम्पनीले सन २०१६ को सेप्टेम्बर देखि निर्माण कार्य शुरु गरेको थियो । विसं २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएपनि सरकारी प्रकृया, मुआब्जा लगायतका विविध कारण निर्धारित मितिमा काम सम्पन्न गर्न नसकेपछि ६ महिना समय थप भएको छ । “अहिलेसम्म करीब ७५ प्रतिशत काम सम्पन्न भएको छ, केही ठाउँमा स्थानीयवासीसँगको विवादका कारण काम हुन नसके पनि आयोजनाको कामले गति लिएको छ, थप भएको समयभित्रै सम्पन्न गर्नेतर्फ हाम्रो जोड छ” – आयोजनाका प्रमुख चन्दनकुमार घोषले भने ।

कालीगण्डकी कोरिडोर राष्ट्रिय प्रशारण लाइनमार्फत म्याग्दी र मुस्ताङमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोडिनेछ । यो प्रसारण लाइनअन्तर्गत १३ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाले उत्पादन शुरु गरिसकेको छ भने म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५ मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला, १०० मेगावाटको निलगिरि र नीलगिरि क्यास्केट निर्माणाधीन अवस्थामा छन् ।

त्यस्तै, रघुगंगा गाउँपालिकामा ४० मेगावाटको राहुघाटले समेत निर्माण कार्य शुरु गरेको छ । अन्नपूर्ण गाउँपालिकामै १६४ मेगावाटको कालीगण्डकी गर्ज, ६२ मेगावाटको निलगिरि, ३८ मेगावाटको निलगिरि क्यास्केटलगायतका आयोजनाले काम शुरु गर्ने तयारी गरेका छन् । कालीगण्डकी र यहाँका सहायक खोलानालाबाट विद्युत् उत्पादनको अनुमति लिएर बसेकाहरु प्रसारण लाइन निर्माणले गति लिएसँगै पूर्वाधार निर्माणमा जुट्न थालेका हुन् ।

यस आयोजनाले प्रसारण लाइनको टावर रहने जग्गा अधिग्रहणका लागि साढे सात करोड रुपैयाँ भन्दा बढी मुआब्जा वितरण गरिसकेको छ । टावरका लागि ९३ रोपनी जग्गा अधिग्रहण गर्दा मुआब्जा मूल्याङ्कन समितिको निर्णयअुनसार म्याग्दीमा ९० जनालाई ४ करोड २० लाख र पर्वतमा ८८ जनालाई ३ करोड ७० लाख मुआब्जा दिनुपर्छ । तर, अहिलेसम्म म्याग्दीका ७० जनाले कुल साढे ३ करोड र पर्वतका ७५ जनाले ३ करोड रुपैयाँ मुआब्जा बुझेको आयोजनाका लेखापाल गोविन्द प्रसाद शर्माले जानकारी दिए ।

प्रकृया पूरा गरी आएका सबै लाभग्राहीलाई मुआब्जा वितरण भैरहेको र केही ठाउँमा एउटै जग्गामा हकदावी धेरै भएको कारण जग्गा पहिचान गरेर मुआब्जा दिने तयारी गरिएको आयोजनाले जनाएको छ ।

टावर सार्न माग

दाना–खुर्कोट प्रसारण लाइनबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरका स्थानीयवासीले घर र खेतीयोग्य जमीनलाई प्रभावित हुने गरी प्रसारण लाइन निर्माण गर्न लागिएको भन्दै प्रसारण लाइनको टावर सार्न माग गरेका छन् । केही घरधुरीको घर र सम्भावित बस्ती विकासको सम्भावना रहेको ठाउँ हुँदै टावर निर्माण र लाइन विस्तार हुने भएपछि स्थानीयवासीले पोखरेबगरको बस्तीलाई छलेर टावर निर्माण गर्न माग गरेका छन् ।

त्यस्तै, प्रसारण लाइनदेखि मुनि पर्ने र टावरका लागि अधिग्रहण गर्ने जग्गाबीचमा असमान तवरले मुआब्जा निर्धारण गरिएकामा प्रभावित क्षेत्रका बासिन्दाहरुले मुआब्जा निर्धारणलाई पुनःमूल्याङ्कन गर्न माग गर्दैआएका छन् । स्थानीयवासीको गुनासाहरुलाई ऊर्जा मन्त्रीसामु पुर्याइएको म्याग्दीका प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले बताए ।

यता, जलजला गाउँपालिकाको मल्लाजका स्थानीयवासीले समेत टावर निर्माणप्रति आपत्ति जनाएका छन् । पोखरेबगर र मल्लाजमा केही समस्या देखिए पनि अन्य ठाउँको कामलाई भने गति दिइएको आयोजनाले जनाएको छ । यस आयोजनाअन्र्तगत म्याग्दी र खुर्कोटबीचमा पर्ने ४ हजार २०८ वटा रुख काटिने भएको छ । रुख काट्नका लागि आयोजनाले प्रतिबोट २५ वटा विरुवा रोपी सट्टा भर्ना गरिदिनुपर्छ ।

दुई दशमलव ५८ हेक्टर वन सट्टाभर्नास्वरुप वृक्षरोपणका लागि आवश्यक पर्ने भए पनि अहिलेसम्म उपयुक्त जग्गा प्राप्त हुन नसकेको आयोजनाका सहायक प्रशासकीय अधिकृत जगदीश लामिछानेले बताए । सम्झौताअनुसार क्षतिपूर्तिस्वरुप रकम उपलब्ध गराउन सकिने प्रावधान रहे पनि रकम यकिन गर्न वन विभागमा पत्राचार गरिएको छ ।

आयोजनाको चरणबद्ध काम


विद्युत् प्राधिकरणले म्याग्दीको दानादेखि नवलपरासीको बर्दाघाटसम्म जोड्ने १४३ किलोमिटर लामो कालीगण्डकी कोरिडोर प्रसारण आयोजनाको पहिलो चरणमा दाना–खुर्कोटमा सब–स्टेशन र ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माणको काम अघि बढाएको छ । यसलाई बर्दाघाटसम्म जोड्न अन्य तीन चरणका कामलाई समेत अघि बढाएको छ ।

खुर्कोटदेखि न्यु बुटवल (बडेरा) ८८ किलोमिटर दूरीको प्रसारण लाइनको सर्भेको काम सकिएको छ भने बडेरामा सब–स्टेशन निर्माणका लागि जग्गा अधिग्रहण गरी काम शुरु भएको छ । बडेरादेखि बर्दाघाटसम्मको १६ किलोमिटर लामो प्रसारण लाइन र सब–स्टेशन निर्माणको काम भने टेण्डर मूल्याङ्कन र वातावरणीय प्रभाव अध्ययनका क्रममा रहेको सहायक निर्देशक खड्काले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button