बिहिबारबाट पोखराका विद्युतिय पोलका तार व्यवस्थित गरिने

पोखरा न्यूज- २५, मंसिर।

गत वर्षको चैत्र ९ गते बसको छतमा राखेर ल्याइएको हाते ट्याक्टर पोखरा महानगरको अमरसिंह चोकको बिजुलीको तारमा झुन्डियो । तारमा ट्याक्टर झुन्डिएपछि निकाल्न समस्या भयो । त्यस्तै अघिल्लो वर्षकै साउन २६ गते रानीपौवामा बिजुलीको तार एक्कासि चुडिएर सडकमा खस्दा गुडिरहेको मोटरसाइकलमा सवार एक युवाको ज्यान गयो । गएको साउन २ गते पोखराको गणेश टोलमा एक्कासी आगलागी भयो ।

बिहान पौने ८ बजे लागेको आगो दमकलको सहायतामा एक घन्टापछि मात्र नियन्त्रणमा आयो । अव्यवस्थित तारका कारण पोखरामा घटेका यी त प्रतिनिधि घटना मात्र हुन् । पर्यटकीय शहर पोखराका सडकमा रहेका बिजुली, केबुल, टेलिफोन र इन्टरनेटका अब्यवस्थित तारका कारण दुर्घटनाको जोखिम निकै बढेको छ । सडक छेउका पोलमा अब्यस्थित तारहरु गुजुल्टो पारिएका छन् भने अनावश्यक रुपमा तारहरुले शहर कुरुप बनेको छ ।

जथाभावी गाडिएका पोल र तारका कारण दिनप्रतिदिन दुर्घटना बढेको र पर्यटकीय शहर कुरुप बनेको भन्दै पोखरा महानगरले तारहरुलाई ब्यवस्थित गर्ने काम सुरु गर्ने भएको छ । महानगरभित्र विभिन्न सेवा प्रदायक संस्थाहरुले एउटै पोलबाट धेरै तारहरु वितरण गर्दा सहर त कुरुप भएको छ नै सँगै दुर्घटनाको जोखिम पनि बढेको छ । यसले महानगरबासीलाई मात्र हैन् यहाँ आउने पर्यटकमा पनि त्रास उत्पन्न गराएको छ ।

दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले जथाभावी रुपमा बिस्तार गरिएका तारको व्यवस्थापन कार्य सुरु गर्नेभएको हो । महानगरले नेपाल विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संस्था, नेपाल टेलिकम, केबल व्यवसायीलगायतका संस्थाहरुलाई बोलाएर तार ब्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको थियो । महानगरले सुचना प्रकाशित गरेपछि नेपाल टेलिकम, नेपाल विद्युत प्राधिरण, एनसेल सहित बाराही इन्टरनेट, टेलनेट प्रा.लि., पोखरा केबल, बर्डलिङ्क कम्यूनिकेशन र पोखरा इन्टरनेट संस्थाहरुसँगको मंगलबार भएको बैठकले तार ब्यवस्थापन सहजिकरण समिति गठन गरेको छ ।

पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल सहित बसेको बैठकले महानगरका उपसचिव तथा सुचना अधिकारी गंगालाल सुवेदीको संयोजकत्वमा तार ब्यवस्थपान सहजिकरण समिति गठन गरेको छ । समितिको सदस्यहरुमा नेपाल टेलिकमका शेषकान्त बस्याल, नेपाल विद्युत प्राधिकरणका इन्जिनियर आनन्द सापकोटा, एनसेल नेपालका सुवोध रेग्मी, बाराही इन्टरनेटका सुरेन्द्र बहादुर थापा,  सोमराज गुरुङ, टेलनेट प्रा.लिका बिनोद हुगाई, पोखरा केवलका मनोज गुरुङ्ग, पोखरा ईन्टरनेटका अजित तामाङ, बर्डलिङ्क कम्यूनिकशनका विनोद के.सी.,महानगरका नगर प्रहरी असई पुरुषोत्तम थापा, सूचना प्रविधि अधिकृत ,पोखरा महानगरपालिका इ.अशोक द्धारे रहेका छन् ।

महानगरले पहिलो चरणमा सिद्धार्थ चोक– वि.पी.चोक – न्यूरोड – सभागृह चोकको तार ब्यवस्थिगत गर्ने भएको छ । महानगरका प्रमुख मानबहादुर जिसीका अनुसार मंसिर २७ गते विहान विपीचोकबाट तार ब्यवस्थित गर्ने अभियान सुरु गरिने भएको छ । अभिायनको दोश्रो चरणमा वि.पी.चोक – साघँुको मुख– महेन्द्र पुल, – नयाँ बजार–पृथ्वीचोक– सभागृहचोक, तेश्रो चरणमा सभागृहचोक–सृजनाचोक–जिरो कि.मी.–हल्लनचोक र चौथो चरणमा हल्लनचोक–सहिदचोक–मुस्ताङ्गचोक सम्मका पोलका तारलाई ब्यवस्थित गर्ने गरि कार्ययोजना बनाएर काम सुरु गरिने मेयर जिसीले बताए ।

‘तार व्यस्थापन गर्ने क्रममा सम्बन्धित निकाय सबै उपस्थित हुने निर्णय भएको छ । जस्को तार टाँगिएको छ उस्ले आफै व्यवस्थापन गर्नुपर्ने छ,’ महानगरका प्रमुख पशासकीय अधिृकत शेषनारायण पौडेलले भने । तार हटाउन प्राविधिक सहयोग नेपाल टेलिकमले उपलब्ध गराउने भएको छ भने अन्य सरोकारवाला संस्थाहरुले अनावश्यक तार हटाउने र ब्यवस्थित गर्ने छन् । महानगरले अघिल्लो सोमबार पत्रपत्रिकामा सार्वजनीक सुचना प्रकाशित गरेर तार ब्यवस्थापनका लागि सम्वन्धित निकायलाई शुक्रबार सम्म जानकारी दिन अनुरोध समेत गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button