अन्तराष्ट्रिय पर्वतीय महोत्सव जारी

विश्वकै नम्बर वान पर्यटनको गन्तव्य बनाउन सक्छौ : पर्यटनमन्त्री

पोखरा न्यूज- २५, मंसिर।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले सन् २०३० सम्म नेपाललाई संसारकै पर्यटनको पहिलो गन्तव्य बनाउन सकिने बताएका छन् । अन्तराष्ट्रिय पर्वतीय महोत्सवको मंगलबार एक समारोहका बीच उद्घाटन गर्दै मन्त्री अधिकारीले भ्रमण बर्षसँगै सन २०२० मा २० लाख पर्यटक भित्रिए सबैको साथ र सहयोगमा सन २०३० सम्म नेपाल संसारकै पहिलो पर्यटनको गन्तव्य बनाउन सकिने बताएका हुन् ।

उनले भने “ हामीले हाम्रो आर्थिक विकास र समृद्धिको लागि सन २०२० मा भ्रमण बर्ष मनाउदै छौं, हामीले निरन्तर रुपमा पर्यटन क्षेत्रबाट राम्रो गर्न सके सन २०३० मा विश्वकै नम्बर वान पर्यटनको गन्तव्य बन्न सक्छौं, यसमा निजी क्षेत्रको साथ र सहयोग आवश्यक पर्छ। ” सरकारले नेपाल भ्रमण बर्षलाई सफल पार्न देशव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना गरेकोले सन २०२० मा पर्यटन क्षेत्रबाट १० प्रतिशत कुल ग्राहस्थ उत्पादनमा योगदान हुने उनले दाबी समेत गरे ।

नेपालमा मात्र पर्वतीय अध्ययन गर्न सकिने बताएका उनले नेपालमा विभिन्न हिमालहरु अरोहण समेत गर्न सकिने जनाए । अन्तराष्ट्रिय पर्वतीय संग्रहालय एसियाकै ठुलो भएको दाबी गर्दै उनले अब संसारकै उत्कृष्ट र ठु्लो संग्रहालय निमाणमा नेपाल पर्वतारोहण संघलाई आग्रह गर्दै आवश्यक सहयोगको लागि मन्त्रालय तयार रहेको जनाए । हिमाल आरोहण सम्बन्धि विभिन्न नीति नियम देखि कर संकलन गर्न समेत संघलाई सरकारले जिम्मेवारी दिएकोले संघलाई जिम्मेवार ढंगले काम गर्न पनि मन्त्री अधिकारीले निर्देशन समेत दिए ।

कुनै ठाँउमा गएर एक रात बस्नेलाई पनि पर्यटक भन्न मिल्ने बताउदै मन्त्री अधिकारीले नेपालमा २० लाख पर्यटक पुर्याउन कुनै ठुलो कुरा नभएको जनाए । बसबाट आउने करिब १० प्रतिशत जसो पर्यटक पाँच तारे होटलमा बस्ने बताउदै उनले बस तथा सडक मार्ग हुदै नेपाल आएका पर्यटकहरुको समेत सहि ढंगले तथ्याङक राख्नु पर्ने बताए । गत बर्ष हवाई मार्गबाट मात्र करिब ९ लाख ५० हजार पर्यटक नेपाल भित्रिएको जनाउदै मन्त्री अधिकारीले बसबाट मात्र करिब ४ लाख ५० हजार र आन्तरिक पर्यटक भने ५० लाख विभिन्न ठाँउमा भ्रमणमा निस्केको दाबी गरे ।

उक्त अवसरमा हिमाल आरोही कोरियन नागरिक ओम हिन गिल, संग्रहालय स्थापनामा सहयोग पुराउने हरिध्वज तुलाचन, भुमि केसी, झलक थापा, मुक्ति केसी लगायतका सम्मानित भएका छन्। संघका अध्यक्ष सन्तविर लामाको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो । उक्त महोत्सवको अवसरमा टोनी हेगन र हिमाल सम्बन्धि पेन्टिङ प्रतियोगिता समेत संचालन भएको छ । प्रतियोगितामा २० जना कलाकारले सहभागिता जनाको पेन्टिङ प्रतियोगिता संयोजक विम्व कवि रमेश श्रेष्ठले बताए ।

हाफ म्याराथनमा आर्मीका श्रेष्ठलाई उपाधि

मंगलबार पोखरामा भएको हाफ म्याराथन (२१ किलोमिटर दौड) प्रतियोगिता नेपाली सेनाका होमलाल श्रेष्ठले जितेका छन्। काठमाण्डौंबाट सहभागी भएका श्रेष्ठले २३ जना प्रतियोगिलाई पछि पार्दै निर्धारित दुरी १ घण्टा २१ मिनेट २६ सेकेण्डमा पार गरी उपाधि सहित ५० हजार प्राप्त गरे ।

सेनाकै कृष्ण बस्नेतले निर्धारित दुरी १ घण्टा २१ मिनेट ३८ सेकेण्डमा पार गरी दोश्रो भए भने सेनाकै खगेन्द्र भाटले निर्धारित दुरी १ घण्टा २२ मिनेट ५४ सेकेण्डमा पार गरी तेश्रो भए । दोश्रोले २५ हजार उपविजेतालाई १५ हजार पुरस्कार प्राप्त गरे ।

१० किलो मिटर महिला तर्फ भएको दौडमा पनि आर्मीका खेलाडीले उपाधि जितेकी छिन् । निर्धारित दुरी ३५ मिनेट ३२ सेकेण्डमा पार गरी नेपाली सेनाकी सरिता वासीले उपाधि जितेकी हुन् । उनले उपाधि सहित २५ हजार प्राप्त गरिन् । सेनाकै रेसु बस्नेत दोश्रो र प्यूठानकी भुमि बुडा मगर तेश्रो भईन्। दोश्रो हुनेले १५ हजार र तेश्रो हुनेले १० हजार पुरस्कार पाए ।

पोखरामा सोमबार देखि संचालन भएको महोत्सव बुधबारसम्म चल्ने भएको महोत्सवका प्रमुख सल्लाहकार कुशल गुरुङले बताए । नेपाल पर्वतारोहण संघको आयोजनामा पोखराको रातोपहिरा स्थित अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा संचालन भएको महोत्सवमा ४० वटा स्टल रहेको संघका महासचिव कुल बहादुर गुरुङले बताए ।

विज्ञान, प्रबिधि, खानाको परिकार, सूचना केन्द्र विभिन्न पर्यटकीय बस्तुहरुको स्टल गरी महोत्सवमा ४० वटा स्टलहरु सहभागी भएको अध्यक्ष लामाले जनाए । महोत्सवमा स्टल तथा दर्शकले प्रबेश गर्दा निःशुल्क व्याबस्था गरिएको संघले जनाएको छ । उक्त महोत्सव सम्पन्न गर्न करिब ८० लाख खर्च लाग्ने भएको संघले जनाएको छ । आयोजकले महोत्सव प्रीथक हुने दाबी गरेपनि यस बर्षको महोत्सव पनि केहि खेल बाहेक अन्य स्टलहरु पहिलाकै जस्तै रहेको स्थानीयले बताएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button