बागलुङमा सिस्नो खोस्ने मेला शुरु

पोखरा न्यूज- २६, मंसिर

बागलुङको ताराखोलाका मगर समुदायले मनाउने सिस्नो खोस्ने मेला सोमबार रातिदेखि शुरु भएको छ ।

ताराखोलाका मगर समुदायको कुलपूजाको अवसर पारेर यो मेलालाई पर्वको रुपमा मनाउने चलन छ । छोएपनि पोल्ने सिस्नोको भारी बोकेर हिँड्ने र युवायुवतीले खोसाखोस गरेर यो पर्व मनाउने गरिन्छ । सोमबार राति कुलपूजाका लागि बलि दिन तयार पारिएको सुङ्गुर र कुखुरालाई वैधिकविधि अनुसार पूजा गरेर मङ्गलबार बिहान भेडालाई घोच्ने र त्यसपछि विधि पुर्याएर बलि दिने प्रचलन यहाँका मगर समुदायमा छ ।

कुलपूजामा बलि दिने भेडालाई घोचेर दुःख दिनका लागि कुलपूजा आयोजना गर्ने परिवार सदस्यको भञ्जा नाता पर्ने दुई जना हुनुपर्छ । मगर समुदायको परम्पराअनुसार तिथिमिति मिलाएर गरिने कुलपूजाका लागि भारतको नयाँदिल्लीबाट सुङ्गुर र नेपालको सुदूरपश्चिम सुनगाउँबाट सुन पंक्षीको रुपमा कुखुरा ल्याउनुपर्ने प्रचलन रहेको स्थानीय विर्वलाल घर्तीमगरले जानकारी दिए ।

दिल्लीबाट सुङ्गुर र सुनागाउँबाट कुखुरा ल्याउन सम्भव नभएपछि परम्पराअनुसार रातभर मगर भाषा अनुसार बाखामाखा पूजा गरेर सुङ्गुर र कुखुरालाई बलिको लागि तयार पारिन्छ । देउता र पितृका लागि सुङ्गुरको बलि दिएपछि साँप्रो काटेर बाँधिएको सिस्नोको भारी खोसाखोस गर्ने मेला ताराखोलाको अर्गलमा लाग्दै आएको पुरानो मेला हो ।

यसरी सस्नो खोस्दा मनले चिताएको पुग्ने, वैवाहिक जीवन सुखमय बन्ने विश्वासले युवाले सिस्नो खोस्ने गर्छन् । बाखामाखा पूजाका लागि पुरानो पुस्ता चाहिन्छ भने सिस्नो खोस्नका लागि विवाह गर्ने उमेरका किशोरकिशोरीको आवश्यकता रहने घर्तीले जानकारी दिए ।

अर्गल, हिल र ताराखोलालगायतका मगरको संस्कृतिमा सिस्नो खोस्ने पर्व अनिवार्य मानिन्छ । पूजापाठ र बलि सकिएपछि युवाले सिस्नोका भारीमा सुङ्गुरको साँप्रो बाँधेर बोकेपछि भारीसँगै नाच्न थाल्छन् । अविवाहित युवती ती भारीबाट सिस्नो र सुङ्गुरको मासु खोस्न निस्कन्छन् । यो क्रम निकै लामो समयसम्म चल्ने गरेको छ ।

सिस्नोमा सुङ्गुरको साँप्रा बाँधेर खोसाखोस गराउदा युवा पुस्तामा संस्कृतिको जानकारी हुने मनोरञ्जन प्राप्त हुने भएकाले यसो गरिएको घर्तीले बताए । कुलपूजाको लागि सिस्नो खस्नुपर्ने अनिवार्य नभए पनि कुल पितृलाई खुशी बनाउनका लागि सिस्नो खोस्ने गरिन्छ । यो काम गर्दा अविवाहित युवायुवतीले राम्रो बर वा बधु पाउने, जीवन सुखमय बन्ने, वैवाहिक सम्बन्ध राम्रो बन्ने विश्वासले हरेक वर्ष दुई पटक यो संस्कृति गर्ने चलन छ । ‘परम्परादेखि चल्दै आएको मेलालाई हामीले निरन्तरता दिएका हौं,’ घर्तीले भने, “यो मेला अर्गलमा सामान्यतया तीन वर्षमा र कहिलेकाहीँ प्रत्येक वर्ष हुनेगर्छ ।”

मगर समुदायमा युवाको विवाह आफ्नै रोजाइँमा हुन्छ । बाबुआमाले केटा वा केटी खोजेर गरिदिने चलन नभएकाले भविष्य सुखमय बनोस्, रोजेको केटा वा केटी राम्रो परोस् भनेर सिस्नो खोस्ने पर्व तथा कुलपूजामा भाग लिन बाहिर गएकै भए पनि फर्केर आउने चलन रहेको स्थानीयवासी सङ्गम घर्ती मगरले बताए ।

कुलदेवतालाई खुशी पार्न मनाइने यो मेला भरेमा पुण्य मिल्ने, चाहेजस्तो जीवन साथी पाइने, स्वस्थ्य रहने र दीर्घायु हुने पनि विश्वास पनि उनीहरु राख्छन् । बाइसे चौबिसे राज्यको पालामा धेरैजसो मगरले भाषा र अन्य संस्कृति गुमाए पनि सिस्नो खोस्ने मेला बचाएर राखेकोले अहिले पनि निरन्तर चलाउने गरेको कुलपूजाका गुरुवाउ अर्गलका भीमबहादुर घर्तीमगरले बताए । सिस्नो खोस्ने बेला नौं वटा ढ्याङ्ग्रो बजाएर गीत गाउँदै सामूहिक जमीनमा आएर सिस्नो खोस्ने गरिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button